ईटहरी । नेपाली अलैंचीको मूल्य घट्दै गएपछि पूर्वी पहाडि जिल्लामा यसको कारोबार ठप्प भएको छ । पहिले प्रतिमन एक लाख रुपैयाँभन्दा बढीमा कारोबार हुने गरेको अलैंचीको भाउ अहिले २५, २६ हजार रुपैयाँमा झरेको छ । अलैंचीको राम्रो उत्पादन हुने ताप्लेजुङ, पाँचथर, ईलाम, तेह्रथुम, धनकुटालगायत जिल्लाका कृषकले भाउ बढ्दै जाँदा धान खेतनै मासेर लगाएको अलैंचीले फल दिन थालेपछि भने भाउ घटेको छ । अलैंचीको मूल्य लगातार घट्दै जादा धानखेती मासेर अलैंचीखेती तर्फ आकर्षित भएका किसानको जिविकोपार्जनमा समस्या आएको छ । पूर्वी पहाडी जिल्लामा सबैभन्दा बढी उत्पादन हुने नगदेबाली अलैंचीको राम्रो कारोबार नभएको एक वर्ष भइसकेको छ । अलैंचीको मुख्य बजार भारत हो ,तर पछिल्लो समय भारतमा अलैंची उत्पादन बढेपछि नेपाली उत्पादनले मूल्य पाएको छैन् । नेपाली अलैंची निर्यातकर्ता भारत सिलगुडीका बाबुलाल जयनले भारतमा अलैंची उत्पादन बढेपछि यताको मूल्य घटेको बताए । उनका अनुसार बजारलाई पुग्दो अलैंची सिक्किम, दार्जिलिङ, असाम, मेघालयलगायत क्षेत्रमा उत्पादन भएपछि नेपाली अलैंचीलाई प्रतिस्पर्धात्मक मूल्य दिन सकेको हो । नेपाल अलैची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष बालमणि बरालले सरकारले अलैंचीको निकासीमा चासो नदिंदा कारोबारमा समस्या आएको बताए । अलैंची मूल्य बढ्ने आशामा कतिपय कृषकले घरमै थन्क्याएर राखेका छन् भने कतिले दैनिक घरखर्च चलाउन कम मूल्यमै बिक्री गरेका छन् । मूल्य बढ्ने आशमा नेपाली व्यापारीले पनि ८० प्रतिशत अलैंची भण्डारण गरी राखेको बिर्तामोडका व्यवसायीले बताए । नेपालको आफ्नै ट्रेडमार्क नुहँदा सिन्डिकेट बजारले नेपालको अलैंची भारत र बंगलादेश बढी जाने गर्छ । कालो सुनको नामले चिनिएको अलैंचीको अन्तर्राष्ट्रिय बजार खोजी गर्न सकेमा किसानको अवस्था सुधार हुने विज्ञहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved