चुनाव प्रचार-प्रसारको मध्यान्हतिर कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले बीबीसीसँगको अन्तर्वार्तामा भनेका थिए- ‘शेरबहादुरजीले न त पार्टी संगठन राम्रोसँग अगाडि बढाउनुभयो, न सरकारको नेतृत्व गरेर राम्रो परफरमेन्स देखाउन सक्नुभयो, अब चुनावपछि रामचन्द्र दाइले सरकारको नेतृत्व गर्नुहुनेछ, पार्टीको नेतृत्व म गर्नेछु ।’
चुनावी परिणामले नेपाली कांग्रेसलाई धेरै नै पछि धकेलेको छ । महामन्त्री कोइरालाद्वारा भावी प्रधानमन्त्री घोषणा गरिएका पौडेल प्रतिनिधिसभामै पराजित भए । अब पौडेलको च्याप्टर करिव-करिव बन्द भएको छ ।
नागरिताअनुसार ७२ वर्ष र जन्मकुण्डली अनुसार ७५ वर्ष पुगेका रामचन्द्र पौडेल अबको ५ वर्षपछि हुने निर्वाचनमा भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत हुने सम्भावना धेरै नै कमजोर देखिन्छ ।
कुनै संकट आइपरेन भने सभापति देउवाले पार्टीको महाधिवेशन अबको ३ वर्ष पछिमात्रै गराउनेछन् । त्यसबेला पार्टी सभापतिका उमेद्वार ‘पौडेल होइन, म हो’ भनेर महामन्त्री शशांकले भनिसकेको अवस्था छ ।
प्रधानमन्त्री बन्ने सम्भावना नभएको नेतालाई पार्टी सभापति पदमा चुनाव जित्न त्यति सजिलो नहुने भएकाले सम्भवतः रामचन्द्र पौडेलले अब सक्रिय राजनीतिबाट विश्राम लिनेछन् ।
पार्टीभित्रको अहिलेको प्रतिपक्षका तर्फबाट पौडेलको उत्तराधिकारीका रुपमा महामन्त्री शशांक कोइराला एकमात्रै दाबेदार भने होइनन्, प्रकाशमान सिंह पनि सशक्त दाबेदार हुन् ।
डा. शेखर कोइराला भने चुनावमा पराजित भएका कारण ‘रिङ आउट’ हुने आँकलन कांग्रेसभित्र गरिँदै छ । ६९ वषर्ीय डा. शेखरलाई उमेरले र सुजाता कोइरालालाई स्वास्थ्यले साथ नदिएका कारण कांग्रेसको एउटा पक्षको उत्तराधिकारीको दौडमा महामन्त्री डा. शशांक कोइराला र प्रकाशमान सिंह देखिएका हुन् ।
१३ औं महाधिवेशनको सेरोफेरोमा शेरबहादुर देउवाको उत्तराधिकारीका रुपमा विमलेन्द्र निधिलाई हेरिएको थियो । महाधिवेशन सम्पन्न भएपछि देउवाले निधिको सट्टा आफ्नै श्रीमती डा. आरजु राणालाई उत्तराधिकारी बनाउने रणनीतिअनुसार क्रियाकलाप अघि बढाए ।
विमलेन्द्र निधिविरुद्ध खुमबहादुर खड्का र गोपालमान श्रेष्ठलाई प्रतिस्पर्धीका रुपमा अघि सारियो । यी तीन जनामध्ये एक अर्कालाई देखाउँदै सभापति देउवाले पदाधिकारी मनोनयन गरेनन् ।
प्रतिनिधिसभाको निर्वाचनलगत्तै पदाधिकारी मनोनयन गर्ने रणनीति देउवाको थियो । निधि र गोपालमानले चुनाव नजित्ने कुरामा देउवाको किचेन क्याविनेट ढुक्क थियो । प्रधानमन्त्री देउवा आफैंले गृहमन्त्रालय सम्हालेका कारण निधि र श्रेष्ठलाई चुनाव जित्न सजिलो थिएन । आखिर भयो पनि त्यस्तै ।
तर, श्रीमती आरजुले समेत चुनाव हारेपछि देउवा किचेन क्याविनेटको हिसाव-किताव मिलेन । आरजुलाई संसदीय दलको नेता बनाउन लबिङ गर्ने शर्तमा निधिलाई उपसभापति बनाउने देउवाको रणनीति अन्ततः असफल भएको छ ।
यो असफलतापछि देउवाले आरजुलाई सधैंका लागि ब्याक गराएर पूर्वसहमति अनुसार नै निधिलाई उत्तराधिकारीका रुपमा अघि सार्लान् कि ? या आरजुकै निम्ति फेरि एकपटक अन्तिम कसरत गर्लान् ? यो प्रश्न नेपाली कांग्रेसभित्र निकै पेचिलो बनिसकेको छ । यो प्रश्नको उत्तर सजिलै अनुमान गर्न सकिने अवस्था छैन । निधिले चुनाव जितेको भए यो प्रश्नको उत्तर करिव-करिव अनुमान लगाउन सकिन्थ्यो ।
विमलेन्द्र निधि दुबै कोणबाट अप्ठेरो अवस्थामा छन् । पार्टीभित्र देउवा कमजोर हुँदा पनि निधिलाई अप्ठेरो छ, बलियो हुँदा पनि अप्ठेरो छ । देउवा कमजोर भए भने भावी नेतृत्व शशांक कोइरालाको हातमा जाने सम्भावना छ । देउवा बलियो भए भने फेरि पनि उनी आफै सभापति पदमा चुनाव लड्नेछन् ।
शेरबहादुर देउवाले अब पनि पार्टीको नेतृत्वमा लोभ गर्नु भनेको श्रीमती आरजुका निम्ति हो भनेर बुझ्न खासै गारो छैन ।
नागरिकता प्रमाणपत्र अनुसार ७१ वर्षको भए पनि जन्मकुण्डली अनुसार देउवाको अहिलेको उमेर ७४ वर्ष हो । मुलुकको राजनीति सरल रेखामा गयो भने अबको ५ वर्ष देउवाले पर्खेर बस्नुको विकल्प छैन । ५ वर्षपछि हुने निर्वाचनमा उनको उमेर ८० वर्षको सेरोफेरोमा पुगिसक्ने छ ।
अहिले जसरी पनि देउवालाई संसदीय दलको नेता बनाउनु निधिका लागि अहिलेको बाध्यता हो । जसरी पार्टीको ११ औं महाधिवेशनमा छोरी सुजाताका निम्ति गिरिजाप्रसाद कोइराला आफैं सभापति पदमा चुनाव लडेका थिए, त्यही अवस्थाबाट देउवा अहिले मुक्त छैनन् ।
पहिलोपटक लडेको चुनाव हार्दैमा ५४ वषर्ीया आरजु थाकेकी छैनन् । यो पराजय आरजुको सक्रिय राजनीतिको अन्त्य नभएर सुरुवात हो भन्ने यर्थाथता अझै पनि कतिपय कांग्रेसजनले पचाउन सकिरहेका छैनन् । तर, यो अनुमान नेतृ शैलजा आचार्यले त्यतिबेलै गरेकी थिइन् ।
आजभन्दा २४ वर्षअघि शैलजाको भनाइ थियो- ‘नेपाली कांग्रेसलाई आफ्नो हातमा लिने लामो डिजाइनअन्तर्गत नै आरजु राणा शेरबहादुर देउवाकी पत्नी बनेकी हुन्, अब देउवालाई अघि सारेर कांग्रेसका नेताहरुलाई एक-एक गर्दै समाप्त पारिनेछ ।’
हुन पनि आरजु देउवाकी पत्नी बनेको भोलिपल्टैदेखि कांग्रेसभित्र पुराना नेताहरुलाई विस्थापित गर्ने खेल सुरु भयो । आरजुलाई श्रीमतीका रुपमा भित्र्याएको दुई वर्षभित्र गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई , गिरिजाप्रसाद कोइराला र महेन्द्रनारायण निधि जस्ता मूर्धन्य नेताहरुलाई विस्थापित गरी प्रधानमन्त्री बन्न शेरबहादुर देउवा सफल भए ।
केही समयसम्म देउवालाई गिरिजाप्रसाद कोइराला र शुशील कोइरालाले चुनौति दिएको देखिन्छ । तर, अब भने देउवा पार्टीभित्र करिव-करिव चुनौतिविहीन छन् ।
डा. शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंह एक ठाउँमा नउभिँदासम्म देउवाका लागि पार्टीभित्र खासै चुनौति छैन । तर, यी तीनजना नेता एकै ठाउँमा उभिने परिस्थिति छैन । त्यो परिस्थितिको निर्माण रोक्न देउवाको किचेन क्याबिनेट सक्षम छ ।
अबका दिनमा प्रकाशमानलाई कमजोर बनाउन गगन थापा र विमलेन्द्रलाई कमजोर बनाउन गच्छदारको प्रयोग गरिनेछ ।
नेपाली कांग्रेसभित्र सिटौला समूहको उदयलाई तेस्रो धारका रुपमा व्याख्या गर्नेहरु पनि धेरै छन् । तर, यो धार जति बलियो बन्दै जान्छ, देउवाका लागि त्यति नै सहयोगी सिद्ध हुन्छ । यो धारबाट अघि आउने सम्भावना गगन थापाले बोकेका छन् । तर, उनका पछि लाग्ने युवाहरु राजनीतिमा टिकिरहन्छन् कि आफ्नो पेशा या व्यवसाय समात्छन् ? यसले नै गगनको भविश्य निर्धारण गर्छ ।
विगत १० वर्षदेखिका गगनका हरेक गतिविधि देउवाका लागि लाभ बन्दै गएका छन् । नेपाली कांग्रेसलाई आफ्नो हातमा लिने आरजु राणाको दीर्घकालीन योजनामा गगनका गतिविधि बाधक होइन, साधक हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved