आयल निगमले बोनस बाँड्न छुट्यायो ५६ करोड, पुरानोसहित पुग्यो ३ अर्ब

  • प्रकाशित मितिः माघ १०, २०७४
  • 905 पटक पढिएको
  • समय अनलाइन

१० माघ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बेचेर गत आर्थिक वर्ष २०७३/७४मा ९ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा गरेको छ । यसबाट निगमले कर्मचारीलाई  वितरण गर्न थप करिब ५६ करोड रुपैयाँ बोनसका छुट्याएको छ । अब निगममा बाँड्न बाँकी बोनस रकम झण्डै ३ अर्ब रूपैयाँ पुगेकाे छ ।

तर, आयल निगम तत्कालै छुट्याइएको  कुनै बोनस रकम बाँड्ने पक्षमा छैन । निगमका कार्यकारी निर्देशक सुशील भट्टराई तत्काल कुनै पनि बोनस नबाँडिने बताउँछन् ।

संस्था समस्यामा हुँदा-हुँदै ठूलो रकम बोनसका रुपमा बुझ्न लागेको भन्दै तीव्र आलोचाना भएपछि निगमका कर्मचारीले विगत ३ वर्षदेखि यस्तो रकम लिएका छैनन् ।

‘हामीलाई सरकारको निर्देशन नै बोनस नबाँड्नू भन्ने छ । त्यसैले सरकारी स्रेस्ता प्रणालीअनुसार बोनसका लागि उल्लेख हुनुपर्ने रकम कायम मात्रै गरिएको हो,’ कार्यकारी भट्टराई भन्छन्,’ स्पष्ट रूपमा भन्छाैं, यसको वितरण तत्काल गरिँदैन ।’

लामो समय घाटामा रहेको ३ वर्षदेखि आयल निगम निरन्तर नाफामा छ । आयल निगमले बोनस बापतको रकम बोनस ऐन र आफ्नो विनियमावलीअनुसार नै छुट्याइएको दावी गर्ने गरेको छ ।

यो वर्ष नयाँ बोनस ऐन आएकाले अर्को वर्षबाट नयाँ नियमअनुसार नै बोनस छुट्याइने निगमका एक लेखा अधिकारी बताउँछन् ।  निगमले गत वर्ष पनि झण्डै १ अर्ब १४ करोड र त्यसभन्दा अघिल्लो वर्ष ९० करोड रुपैयाँ रकम बोनसका रुपमा छुट्याइएको थियो ।

३ अर्ब बोनस रकमले हाइसञ्चो !

यो वर्ष छुट्याइएको ५६ करोड बोनससहित निगमको बोनसको स्रेस्तामा झण्डै २ अर्ब ८० करोडभन्दा बढी रकम जम्मा भएको छ । आर्थिक वर्ष २०६४/६५को १९ करोड बोनस पनि वितरण हुन सकेको छैन ।

‘बोनसको रकम नबाँडिदा सजिलो नै भएको छ । हामी घाटामा हुँदा पनि त्यही रकमले तेल र ग्यास किनिरहेका छौं,’ कार्यकारी निर्देशक भट्टराई भन्छन्,’चालु पुँजी अभाव भएका बेला यो रकमले काम चलाउँछौं । त्यसैले हामीलाई घाटामा चल्दा पनि ऋण लिनु पर्ने अवस्था पनि छैन ।’

निगमले गत आर्थिक वर्षमा १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ कारोबार गरेको थियो । यसमध्ये उसले भारतीय आयल निगमलाई १ खर्ब ९ अर्ब भुक्तानी गर्‍यो ।

अाय कर पनि तिर्यो

कुल ४७ अर्ब नाफा गरेको निगमले सरकारलाई ४ अर्ब ३ करोड रुपैयाँ आय कर पनि भुक्तानी गरेको छ ।  पूर्वाधारका लागि निगमले ९ अर्ब ४३ करोड रुपैयाँ छुट्याएको छ । खुद साढे ९ अर्ब रुपैयाँ नाफाबाट निगमले झण्डै ५७ करोड रुपैयाँ बोनसका लागि छुट्याएको हो ।

आपूर्ति र अर्थ मन्त्रालयले पेट्रोलियम भण्डारणका थप पूर्वाधारहरु तयार नगरी बोनस नबाँड्न भनेको छ । निगम पनि त्यो निर्देशन नकारेर बोनस वितरणमा जाने सुरमा छैन ।

जग्गा खरिदका क्रममा घोटाला भएको भन्दै निगमका उच्च अधिकारीहरु अनुसन्धानको घेरामा छन् । त्यसैकारण पनि निगमका अधिकारी थप आलोचित हुनुपर्ने र अख्तियारमै जवाफ दिनुपर्ने भन्दै बोनस नबाँड्ने पक्षमा उभिएका हुन् । नियमअनुसार भन्दै बोनस भने छुट्याएर राखिएको छ ।

बोनसको रकम नबाँडिएपछि पछिल्लो समय आयल निगमले घाटामा जाँदा पनि सरकारसँग ऋण माग्न छाडेको छ । बोनसको रकम नै परिचालित गर्न पाउँदा उसले आफ्नो भुक्तानी सयममै गर्न सकेको भट्टराई बताउँछन् ।

निगममा अहिले झण्डै साढे ४ स्थायी कर्मचारी छन् । करार र ज्यालादारीमा पनि निगममा थुप्रै कर्मचारी भर्ति भएका छन् ।

कर्मचारीको अपेक्षा अदालतमाथि 

निगमका कर्मचारीले बोनस रकम रोकेको भन्दै सर्बोच्च अदालतमा मुद्दा पनि दायर गरेका छन् । त्यसको फैसला पनि आउन बाँकी छ । आगामी १७ गते सो मुद्दाको पेशी तोकिएको छ । निगमका कर्मच्ारी अदालतले नै बोनस खाने बाटो खोलिदिने अपेक्षामा छन् ।

आयल निगम अहिले महिनामा झण्डै ४० करोड रुपैयाँ घाटामा छ । निगमलाई पेट्रोल र हवाई इन्धन बाहेक डिजेल र खाना पकाउने ग्यासमा ठूलो घाटा छ । भारतको भन्दा नेपालमा तेल सस्तो भएपछि भारततर्फ हुने तेल तस्करी बढेको छ ।

एकैपटक मूल्य बढाउँदा उपभोक्तालाई भार पर्ने भएकाले मूल्य समायोजन गर्दा घाटा नै राखेर भएपनि राहत दिइएको कार्याकारी निर्देशक भट्टराई बताउँछन् । उनी अहिले निगमको ध्यान बोनसतर्फ हुँदै नभएको दावी गर्छन् ।

इन्धनको चर्को मूल्य कायम गरेर नाफामा केन्द्रित हुने आयल निगमका कर्मचारीलाई बाँडिने बोनसको तीव्र आलोचना हुने गरेको छ । कमजोर वितरण प्रणालीका कारण उपभोक्ताले अनेकन सास्ती भोग्नुपरिरहँदा जिम्मेवार आयल निगमले बोनसका लागि रकम छुट्याउनु नै जायज नभएको सरोकारवालाको तर्क छ ।

विशेष गरी फितलो क्षमताका पूर्वाधारका कारण निगमको व्यवस्थापन निकै कमजोर बनेको छ । मुस्किलले ५ दिनलाई मात्रै पुग्ने भण्डारण क्षमताका कारण एक दिन आपूर्ति रोकिनासाथ बजारमा पट्रोलियमको हाहाकार सुरु हुने अवस्था छ । त्यसैले निगमले पूर्वाधार विकास नगरेसम्म बोनस बाँड्न नहुने आम सर्वसाधारणको पनि धारणा छ ।

राम्रो अवस्था तयार नहुँदै आयल निगमका कर्मचारीलाई नाफाका नाममा बाँडिने रकमलाई नागरिकले रुचाउँदैनन् । कमजोर भण्डारण क्षमतालाई बढाउन योजना बनाउँदै गरेको निगमले बोनसमा रकम खर्चिन नहुने आमनागरिकको धारणा छ ।

तर, निगमका अधिकारी बोनसका लागि नियमअनुसार नै रकम छुट्याउनुपर्ने तर्क गर्छन् । यसअघिको बोनस ऐनले नै सार्वजनिक संस्थानका कर्मचारीले नाफाको वाषिर्क ६ प्रतिशत रकम बोनस खान पाउने व्यवस्था गरेको थियो ।  अब यो ऐन सच्चिएकाले अर्को वर्षबाट बोनसका हकमा नयाँ नियम लागू हुने निगमका लेखा अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved