भारतले अदुवा निकासी फेरि रोक्यो, किसान र व्यवसायी मर्कामा

  • प्रकाशित मितिः माघ १०, २०७४
  • 1088 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । मुख्य नगदेबाली अदुवा निकासीमा भारतले रोक लगाएपछि पूर्वी नेपालका किसान तथा व्यवसायीहरु प्रत्यक्ष मर्कामा परेका छन् ।

भारतीय पक्षले माथिको आदेश भन्दै विगत १७ दिनदेखि रोक लगाएपछि अदुवा निकासी हुन सकेको छैन ।  अघिल्ला वर्षमा पनि भारतले यसैगरी बेला बेला अदुवाको निकासीमा रोक लगाउँदै आउने गरेको छ । 

नेपाली अदुवामा माटो टाँसिएको, गुणस्तर राम्रो नभएको र चाइनिज अदुवा मिसिएको भेटिएको भन्दै निकासीमा रोक लगाइएको भारत पक्षको भनाइ छ । 

“यहाँबाट जाने अदुवा धुलाबारीमा रहेको प्रशोधन केन्द्रमा सफाइ भएर मात्र निकासी गरिन्छ,” बिब्ल्याँटेका व्यवसायी कृष्ण पौडेलले बाह्रखरीसँग भने, “यसअघि पनि भारतीय पक्षले बिनासूचना विभिन्न बहानामा अदुवा निकासी रोक्दै आएको थियो । तर यसपटक भने १७ दिनदेखि अदुवा जान सकेको छैन ।” 

अदुवा निकासी हुन नसक्दा अदुवा लोड भएर भन्सार हुने क्रमका करिब साठ्ठीवटा ट्रक काँकडभिट्टा नाकाबाट पुनः फर्काएर सबै व्यवसायीले आ–आफ्नो गोदाममा अनलोड गरी थन्क्याउन बाध्य भएका व्यवसायी पौडेलले बताए । 

“धेरै दिन थन्क्याउँदा अदुवा बिग्रिने सम्भावना बढी छ,” पौडेलले भने, “अदुवालगायत अन्य कृषिजन्य वस्तु निकासीमा भारतले गर्ने यस किसिमको अवरोधबाट किसान र व्यवसायी बारम्बार मर्कामा पर्ने गरे पनि नीति निर्माण तहबाट कुनै समाधान खोजिएको पाइँदैन ।”

अदुवा निकासीका विषयमा बारम्बर समस्या आउने गरेको तर त्यसलाई स्थानीय स्तरबाटै समाधान गरिँदै आएको इलामका अदुवा व्यवसायीहरु बताउँछन् । 
“अदुवा निकासीमा भारतबाट बारम्बार अवरोध हुँदै आएको छ,” इलाम बजारका एक कृषि व्यवसायी भन्छन्, “सरकारले यस विषयमा ठोस नियम नल्याएका कारण अदुवा निकासी समस्या बारम्बार बल्झिने गर्छ ।” 

अदुवा निकासी नभएका कारण अदुवाले राम्रो मुल्य नपाउँदा इलामका १२ हजार ९ सय ३२ परिवार प्रत्यक्ष प्रभावित भएको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ ।

मापदण्डमा के छ ?
 

नेपाल सरकारले २०५७ मा तोकेको अदुवाको मापदण्डअनुसार चिस्यान १२ प्रतिशत भन्दा कम भएको, बाह्य पदार्थ २ प्रतिशतभन्दा कम भएको, सुगन्धित तेल १ प्रतिशतभन्दा बढी भएको, क्याल्सियम अक्साइड ४ प्रतिशतभन्दा कम भएको र कुनै रङ्गको प्रयोग नभएको अदुवा निर्यातका लागि योग्य हुन्छ ।

यस्तै बोक्रा फालेको, नफालेको सुकेको विभिन्न आकारको अदुवाको गानो निर्यातका लागि योग्य मानिन्छ । 

तर अदुवाको उत्पादन परिमाणअनुसार प्रशोधन केन्द्रको क्षेत्रफल र क्षमता कम रहेकाले  नेपालबाट माटो सहितको अदुवा भारत पुग्ने गरेको केही व्यवसायीको भनाइ छ । 

माटो लागेको अदुवा भारत पुग्ने गरेको र त्यहाँका व्यवसायीको असन्तुष्टिपछि नेपाली अदुवा निकासीमा भारत सरकारले रोक लगाएको हुनसक्ने नेपाल अदुवा उत्पादक तथा व्यसायी संघका अध्यक्ष नरेन्द्र खड्काको धारणा छ । 

किसान निरुत्साहित
 

भारतले अदुवा निकासीमा रोक लगाएपछि पूर्वी नेपालका किसानहरु अदुवा खेतीबाट निरुत्साहित हुन थालेका छन् । 

“भारतले नेपालको अदुवा निकासीमा रोक लगाएकाले अदुवा कृषकहरु प्रत्यक्ष मर्कामा परेका छन्,” नेपाल अदुवा उत्पादक तथा व्यसायी संघका अध्यक्ष नरेन्द्र खड्का भन्छन्, “अदुवाले बजार र मुल्य नपाएकै कारण किसानहरु अदुवा रोप्न निरुत्साहित बनेका छन् ।”

साबिकमा चालिसदेखि सत्तरी रुपैयाँ प्रतिकिलो बिक्री हुँदै आएको अदुवा अहिले २० देखि ३५ रुपैयाँ प्रतिकिलोमा झरेको छ ।

“अदुवाको भाउ पुरै घटेको छ,” इलाम कोल्बुङका कृषक राजु राई भन्छन्, “सस्तो भाउमै पनि व्यपारीले किन्न छोडेकाले आउँदो सिजनमा अदुवा रोप्ने कि नरोप्ने भन्ने द्विविधा छ ।”  नेपालका २६ जिल्लामा अदुवा खेती हुँदै आएकोमा सबैभन्दा बढी अदुवा उत्पादन गर्ने जिल्ला इलाम हो ।

पूर्वी नेपालका सबै स्थानमा अदुवा उत्पादन हुने गरे पनि इलामका जिर्मले, समालबुङ, शान्तिपुर, लक्ष्मिपुर, गोदक, चिसापानी, नमासालिङ, चिसापानी, गोर्खे, बरबोटे, पशुपतिनगर नयाँ बजार कोलबुङ गाविस र तीन नगरपालिकाका ३ हजार २ सय ३३ हेक्टरमा अदुवा खेती हुने गरेको छ ।

यस्तै पाँचथरमा २ हजार हेक्टरमा अदुवाको खेती हुने गरेको छ । आङसराङ, पौवासारताप, रानीटार, नागिन, फिदिम, रानीगाँउ गाविसमा बढी मात्रमा अदुवाको उत्पादन हुने गरेको छ ।

पाँचथर, इलामलगायतका पूर्वी जिल्लाबाट अधिकांश अदुवा झापाको काँकडभिट्टा नाका हँुदै भारत निकासी हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved