अपराध कि अधिकार ?यौन स्वतन्त्रता :

  • प्रकाशित मितिः श्रावण १२, २०७६
  • 1692 पटक पढिएको
  • समय अनलाइन

शिक्षकको अर्थ शिक्षा दिने व्यक्ति । हाम्रो बुझाइमा आफूभन्दा जान्ने, धेरै पढेको वा कुनै विषयमा दख्खल भएको भन्ने बुझिन्छ । म पनि शिक्षक हुँ, तर केही विषय र केही दिइएका पाठ्यसामग्रीभन्दा अन्यमा शिक्षकको भूमिका निभाउन सक्षम नहुन सक्छु । धेरै व्यक्ति, जुन उमेर र ओहोदामा मभन्दा साना थिए ती मेरो लागि शिक्षक बनेर आए, धेरै पाठ मात्र होइन समाज पनि बुझाए ।
‘म्याम, दुई वर्ष भयो ब्याच्लर सकेको, अब मास्टर गर्नुपर्‍याे । सजिलो विषय समाजशास्त्रमा के कसो होला, सुझाब पाऊँ न,’ करिब २४-२५ वर्षको एक युवाले म्यासेन्जरमा पठाएको प्रश्नले मेरो ध्यान खिच्यो । नचिनेकोलाई सामान्यतया उत्तर दिन्नँ । तर, आफूले पढ्दै–पढाउँदै आएको विषयसँग सम्बन्धित युवाको प्रश्न देखेपछि चुप रहन सकिनँ । इन्स्ट्राग्राममा प्रायः उनीसँग पढाइसम्बन्धी कुरा हुन्थ्यो । आफू काम गर्ने र पढाइलाई धेरै समय दिन नसक्ने, तर डिग्री हासिल गर्नपर्ने हुनाले पढाइ सुरु गर्ने मनसाय रहेको उनले बताए । एक दिन फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ आयो, उनैको । सरसर्ती हेर्दा ५० भन्दा धेरै म्युचुअल साथी रहेछन् । सबैजसोलाई म चिन्दिनथेँ । तर, सञ्जालमा जोडिएका थिए, अलि कौतूहल जगाउने प्रोफाइल लाग्यो । इन्स्टाग्राममा फोटो मात्र थियो, यता कामको विवरण पनि । कुनै विज्ञापन संस्थामा काम गर्ने मोडल पनि रहेछन् उनी । उनको प्रोफाइलमा भएका साथी, कमेन्ट गर्ने साथीहरूका प्रोफाइल र उनको उमेर केही अमिल्दो लाग्यो । तीन सयदेखि चार सय मात्र साथी र प्रायः ३५ नाघेका विवाहिताजस्ता देखिने महिला धेरै थिए । उनको आफ्नै उमेर समूहका चाहिँ मुस्किलले २० देखि ३० मात्र । प्रायः म्यासेज आइरहन्थ्यो उनको, कहिले फोटोबारे टिप्पणी आउँथ्यो, कहिले मैले लगाएको लुगाबरे कमेन्ट । समय मिल्दा उत्तर र प्रतिक्रिया दिन्थेँ । म उनको नाम काटेर बोलाउँथेँ, उनी म्याडम भन्थे । बिस्तारै केही सहज वातावरण बन्दै थियो, कुनै मुद्दामा बहस गर्न ।
पत्रपत्रिकामा आउने यौन र यौनसम्बन्धबारे लेख प्रायः हेर्छु, चासोको विषय पनि हो । दिनमा १५ सय वैदेशिक रोजगारीमा देशबाट बाहिरिने समूहमा पुरुष बेसी होलान् । यहाँ हुने महिलाको सम्बन्ध विशेष गरी अनैतिक भनेर लगाइने लाञ्छनादेखि तिनको इच्छा र आकांक्षाबीचको खाडलको केही अध्ययन गर्न मन थियो । तर, सुरुवात कहाँ र कसरी, अन्योल उस्तै । अनैतिक भनेर आउने सम्बन्ध र व्यक्तिगत स्वतन्त्रता कसरी जोडिन पुग्छ, त्यो भाग हेर्न चाहन्थेँ । एकदिन मौका मिल्यो । सोधेँ, ‘मेरा साथीहरू धेरै चिनेका रहेछौ । नाता पर्छ र ?’ सुरुमा अज्ञात रहेजस्तो गरे पनि फोटो नै पठाएँ । सायद उम्किने ठाउँ थिएन, उनले सहजै भने, ‘कोही चिन्नलाई नाता, आफन्त वा नजिकैको हुनपर्छ भन्ने छैन म्याडम, उमेर-इच्छा र परिस्थितिले पनि सम्बन्ध जोडिन्छ यहाँ ।’ हो, आफैँमा धेरै अर्थ बोकेको उत्तर थियो यो । मेरो लागि योभन्दा ठूलो मौका अर्को हुँदैनथ्यो र व्यक्ति पनि सही नै थियो । समय मागेँ, कफी पिउन । उनी पनि मसँग भेट्न चाहन्थे ।
भेट भयो । निकै आकर्षक थिए उनी । अग्लो कद, जिम गएर बनाएजस्तो शरीर । उमेर, शरीर र रूपको राम्रो संयोजन थियो । मैले पहिले नै भनेकी थिएँ, ‘आफ्नो अनुभव खुलेर व्यक्त गर्नुपर्छ । म केही लेख लेख्दै छु, मेरो लागि सहयोग हुन सक्छ । तर, तिम्रो नाम र पहिचान कहिले खुल्नेछैन ।’ भेट्नेबित्तिकै हात मिलाउन खोजे उनले । म असहज भएको देखेर उनी रोकिए, तर निरास बनाइनँ । ‘उमेरको अन्तर विचार नगरी पहिलो भेटमै हात मिलाउन अप्ठ्यारो लागेन ?’ मैले सोधेँ । ‘साथीजस्तो भएर अनुभव बाँड्न बोलाउनुभयो । के असहज ? फेरि मेरो त हजुरजस्तो उमेरका नै साथी ज्यादा छन्,’ यति भनेर हाँसेर कुरा टारे । अब कौतूहल झनै बढ्न थाल्यो । उनले भन्दै गए :
‘सरला शाक्य, ४८ (नाम परिवर्तन), श्रीमान् बाहिर, दुई छोरी । तीनकुनेमा घर । दुवै छोरी होस्टलमा । मेरो निकै राम्रो साथी हो र क्याजुअल सम्बन्ध पनि छ । भावनात्मक रूपमा हामीबीच केही छैन, तर दुवैको इच्छाअनुरूप हामी सम्बन्ध राख्छौँ । कुनै नैतिक जिम्मेवारी भने छैन । मन लाग्दा र समय मिल्दा म प्रायः उहाँको घरमा जाने गर्छु । छोरीहरू पनि मलाई चिन्छन्, तर आमाको चिनजान धेरै नै माथि छ ।’ मलाई एउटा प्रोफाइल देखाउँदै उनले सम्बन्ध खुलाउन थाले, ‘मेरो फेसबुकमा हुनुहुन्थ्यो उहाँ । उहाँ ‘सेक्सबम’ हो । कोही पनि उहाँबारे नसोची बस्नै सक्दैन ।’
मैले पनि चिनेको अर्की ३४–३५ वर्षकी सुन्दर महिलाको फोटो उनले फेसबुकमा देखाए । सोधेँ, ‘कसरी चिन्यौ ?’ उनले सञ्जालमा भेटेको र दुई पटक घर पुगेको बताए । ‘त्यसरी जाँदा छिमेकीको डर हुन्न ? नातेदारले देख्दैनन् ?’ सोधेँ । उनको उत्तर, ‘दिउँसो गइन्छ । भाडामा बस्ने धेरै हुन्छन् । कसलाई के मतलब !’ ‘दुई सन्तान छन् थाहा छैन ?’ मैले जिस्क्याएँ । ‘खोइ श्रीमान् बाहिर छन् भन्नुहुन्थ्यो । दुवैको इच्छा भयो, परिस्थिति मिल्यो, सकियो । मलाई अरू के जान्नुपर्‍याे र ?’ उनको बोलीमा कुनै पश्चात्ताप थिएन । ‘फ्रेन्ड विथ बेनिफिट हाहा...,’ उनको सहज उत्तर आयो ।
मसँग ती महिलाबारे केही सूचना थियो । उनी मेरो साथीको आफन्त हुन् । पाँच वर्षअघि नै डिभोर्स गरी दुई सन्तानका साथ सुविधासम्पन्न फ्ल्याट भाडामा लिएर बस्थिन् । एक कलेजको लाइब्रेरीमा काम गर्ने उनले सन्तानलाई निकै महँगो स्कुलमा बोर्डर्स राखेकी थिइन् । निकै सान र रवाफपूर्ण जिन्दगी छ उनको ।
हाम्रो संस्कार, पारिवारिक मूल्य–मान्यताले यौनलाई सीमित घेरामा राखेको छ । तर, बदलिँदो परिवेशले स्वतन्त्रता खोजिरहेको छ
विवाह र सेक्ससँग जोडिएर आउने अन्य सम्बन्ध अनैतिक हुन् भनी सिकाउने समाजमा हुर्किएकी मलाई ती युवक ‘क्याजुअल सेक्स’, ‘फ्रेन्ड विथ बेनिफिट’ जस्ता यौनको नयाँ अभ्यास र परिष्कृत स्वरूपसँग चिनारी गराउँदै थिए । यी विषय व्यक्तिको यौन स्वतन्त्रता, इच्छा र अधिकारस“ग जोडिएको हुन्छ । उनीसँगको भेटपछि मलाई यौन स्वतन्त्रता र बदलिँदो यौन जिन्दगीबारे केही बुझ्न सहज भयो ।
यी सम्बन्धबारे बुझ्ने हेतुले सञ्जालतिरै आँखा घुमाउन थालेँ, मेरो प्रश्नको उत्तर दिन सक्ने अर्को व्यक्ति भेटिने आशामा । एक भेटिए ।
समीर छेत्री (नाम परिवर्तन), उमेर ४५ । परिवार सबै विदेशमा । उनी एउटा संस्थाको ठूलै पदमा काम गर्छन् । हाइड्रोपावरमा लगानी छ । आफ्नो व्यवसायमा निकै सफल व्यक्तित्व हुन् । प्रोफेसनल चिनजान थियो मेरो । तर, खुला सोचविचार भएको र कुनै मुद्दामा पनि तार्किक बहसमा जान सक्ने व्यक्तिको रूपमा चिन्थेँ । माथिल्लो वर्ग र खुला समाजको प्रतिनिधिपात्रका रूपमा उनलाई लिन सकिन्छ । ‘क्याजुअल सम्बन्ध’ र ‘फ्रेन्ड विथ बेनिफिट’को अर्थ र उपयोगिता हाम्रो समाजमा कसरी राख्न सकिन्छ ? सायद उनीबाट उत्तर अपेक्षित थियो ।
‘सही र गलत मान्ने कुरा एक ठाउँ, व्यक्तिको यौन इच्छा र स्वतन्त्रता अर्को । हाम्रो संस्कारले सही मान्दैन भन्दैमा कुनै कुरा गलत नै भनी ठोकुवा गर्न मिल्दैन । मेरी श्रीमती मसँग छैनन्, तर मेरो सेक्स पार्टनर छिन् । राजीखुसी सम्बन्ध छ । यो हाम्रो स्वतन्त्रता हो,’ उनको उत्तरले पनि उदारतातर्फ नै संकेत गर्‍याे । ‘तपाईंलाई बेस्सरी भोक लागेको छ, खानेकुराका अप्सन छ र किन्ने क्षमता अनि रहर पनि छ भने तपाईं आफ्नो रोजाइतर्फ नै जानुहुन्छ । तपाईंको स्वादमा तपाईंको अधिकार हुन जान्छ,’ उनको ठट्यौली अभिव्यक्तिले धेरै उत्तर बोकेर आयो । ‘क्याजुअल सम्बन्ध र व्यक्तिगत स्वतन्त्रता साथीसँगका विश्वास र आवश्यकताले निकाल्ने हुन् । यसबारे जज नगर्नुहोला । सहर र युवापुस्तामा यो सामान्य भइसक्यो । संस्कार मात्र होइन, व्यक्तिगत स्वतन्त्रताले निर्माण हुन्छन् यस्ता प्रवृत्ति । स्वतन्त्र जमात यौनका लागि विवाह नै कुरेर बस्छ भन्ने छैन । सहजता र मन मिले यो ठूलो कुरा होइन । माया, प्रेम, विवाह, परिवार, धर्मसँग मात्र होइन, यौन त शारीरिक आवश्यकता र व्यक्तिगत स्वतन्त्रतास“ग पनि जोडिन्छ । सायद ‘लिभिङ टुगेदर’को संस्कारलाई पनि यसैमा जोड्न सकिन्छ,’ प्रश्नभन्दा उनको उत्तर जटिल हुन थाले मेरा लागि ।
०००
बढ्दो सहरीकरण, एकल परिवारको अभ्यास, वैदेशिक रोजगारी, व्यस्त जीवनको भागदौड, बढ्दो डिभोर्स, व्यक्तिगत स्वतन्त्रताको अभ्यास, ढिलो विवाह, तनावका बीचमा समाजमा देखिने समस्यालाई सतही रूपमा जसरी प्रस्तुत गरिएका हुन्छन् तिनको अध्ययन र विश्लेषण पनि समयसापेक्ष हुनपर्छ । यौन स्वतन्त्रतालाई अपराधको रूपमा लिने वा अधिकारका रूपमा ? अनेक बहस होलान् । तर, बढ्दै गइरहेको खुलापनलाई अस्वीकार गर्न सकिँदैन ।
हाम्रो संस्कार, पारिवारिक मूल्य–मान्यताले यौनलाई सीमित घेरामा राखेको छ । तर, बदलिँदो परिवेशले स्वतन्त्रता खोजिरहेको छ । लामो समयसम्म श्रीमान्–श्रीमती एक–अर्काबाट टाढा रहनुपर्दा जागृत हुने कुण्ठित भावना, एक्लो जीवनको निराशा आदिले यौन स्वतन्त्रता खोज्न थाल्छ । तर, समाजले संस्कार र आचरणको बार लगाइदिन्छ । यही द्वन्द्वमा मानिसका इच्छा–आकांक्षा दमित मात्र होइन, विभिन्न स्वरूप लिएर प्रस्फुटन हुन थाल्छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved