पत्रकार शालिकराम पुडासैनी नारायणगढको पोखरा बसपार्कस्थित कंगारु होटलमा मृत अवस्थामा भेटिएपछि चितवनका होटेल व्यवसायी र स्थानिय वासिन्दाहरु आतंकित बनेका थिए। प्रहरीले रातिदेखि नै कंगारु होटललाई आफ्नो नियन्त्रणमा राखिसकेको थियो।
भोलिपल्ट अर्थात् साउन २० गते बिहानै पुडासैनी झुण्डिएको समाचार सबैतिर फैलिइसकेको थियो। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु भयो, त्यतिञ्जेल मृतक पुडासैनीका आफन्त घटनास्थलमा आइसकेका थिए।
प्रहरीले शवको मुचुल्का उठाएर पोस्टमार्टम गर्न खोजे पनि पुडासैनीका आफन्तले दिएनन्। उनीहरुले पुडासैनीको हत्या वा आत्महत्याका लागि बाध्य पारिएको हुनसक्ने आशंका गर्दै घटनाको निष्पक्ष छानविन भएपछि मात्र शव उठाउन दिने अडान लिए।
घटनास्थलमा खटिएको प्रहरीले मृतकका आफन्तलाई कन्भिन्स गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल आफै घटनाको अनुसन्धानमा खटिए। एसपी मल्लले कन्भिन्स गरेपछि मृतकका आफन्त शव उठाउन दिन राजी भए।
शव उठाएर पोस्टमार्टमका लागि पठाइयो। त्यसपछि आफन्तले पुडासैनीको शव काठमाडौं ल्याए। त्यतिञ्जेलसम्म घटनाका बारेमा धेरै चर्चा भएको थिएन। तर, पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो प्रहरीले फेला पारेपछि पुडासैनी मृत्यु प्रकरणले नयाँ मोड लियो।
एसपी मल्लले चाहेको भए भिडियो भेटिएलगत्तै रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई गिरफ्तार गर्न सक्थे। तर, उनी तत्काल गिरफ्तारभन्दा भिडियोको फरेन्सी ल्याव परिक्षणतिर लागे। दोषी नउम्कोस्, निर्दोष नफसोस् भन्ने जानीबुझी एसपी मल्लले उक्त कदम चालेका थिए। फरेन्सी ल्यावको रिपोर्ट आएपछि बल्ल प्रहरीले आरोपितहरुलाई पक्राउ गर्यो।
रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई पक्राउपछि लामिछानेका समर्थकहरु स्तव्ध भए। त्यसमा केही साँचो मनले लामिछानेलाई माया गर्ने र उनको कामका प्रशंसक पनि थिए। उनीहरुलाई आत्महत्या दुरुत्साहन सम्बन्धि कानूनी प्रावधानको ज्ञान थिएन। तर, लामिछानेलाई फसाउन लागिएको हो कि भन्ने भय र चिन्ता थियो।
समर्थकहरुको त्यही चिन्ता र भयमा राजनीति घुस्यो। प्रहरीले कानूनभित्र रहेर अनुसन्धान प्रक्रिया अघि बढाइरहेको थियो। तर, एसपी मल्ललाई जबर्जस्ती विवादमा तान्ने कोशिस गरियो। समर्थकहरुलाई परिचालन गर्ने शक्तिको नियत खराब नै देखियो। आन्दोलनमा रविको पक्षमा मात्र नारा लागेन, प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड, भरतपुरकी मेयर रेनु दाहाल र एसपी दानबहादुर मल्लविरुद्ध पनि नाराबाजी गरियो। आन्दोलनमा ‘गणतन्त्र मूर्दावाद’सम्मका नारा लागे ।
यो रविका समर्थकको काम थिएन। बरु, रवि पक्राउलाई ढाल बनाएर सरकार र गणतन्त्रमाथि प्रहार गर्ने शक्ति र समूहको सुनियोजित प्रपञ्च थियो। एकथरि राजावादीहरु पर्दाभित्रबाट भीडलाई भड्काउने र रक्तपात मच्चाउने कोशिसमा थिए। मल्ललाई केन्द्रिय अनुसन्धान व्युरो (सिआईब) ले अनुसन्धानमा सघाउन शुरु गरिसकेको थियो।
दरबारिया तत्वहरु प्रहरी प्रशासन र राजनीतिक नेताहरुलाई उत्तेजित पार्ने र परिस्थितिलाई हिंस्रक बनाउने कोशिस गर्दै थिए, ताकि परिस्थिति भड्किएर जनमत आफ्नो हातमा आइपुगोस्। तर, एसपी मल्लले निकै संयमता र धैर्यता देखाए। भरतपुरलाई रणमैदान बनाउने र देशव्यापी भीडन्तको परिस्थिति निर्माण गर्ने योजना सफल हुन सकेन।
मल्लले हजारौं आलोचना सहे, उनीमाथि सामाजिक सञ्जाल र युट्युवमा अश्लिल गालीको वर्षा भयो। मल्लले धैर्यता र विवेकका बलमा परिस्थिति आफ्नो नियन्त्रणमा राखे र सोमबारदेखि भरतपुर सामान्य अवस्थामा फर्कियो। तर, उनले न धैर्यता गुमाए न विवेक। सोमबार साँझसम्म आइपुग्दा उनकै विवेकका कारण सामान्य परिस्थितिमा थुनछेकको बहस सकियो र प्रतिबादीहरु रिहा पनि भए।
-एजेन्सी
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved