कार्ययोजना अनुसार अगाडि नबढ्दा प्रदेश १ सरकारको विकास बजेटको कार्यान्वयन निराशाजनक देखिएको छ । आर्थिक वर्षको आधा समय गुज्रिँदासमेत बजेट अत्यन्तै न्यून मात्र खर्च भएकाले विकासका आयोजना प्रभावित हुने देखिएको हो ।
गत आर्थिक वर्षमा पनि बजेट खर्च गर्न नसकेको भन्दै आलोचना भएपछि प्रदेश १ सरकारले सुधारका लागि चालु आर्थिक वर्षमा सबै मन्त्रालयलाई कार्ययोजना बनाएर लागु गर्न निर्देशन दिएको थियो ।
सरकारको निर्देशनअनुसार मन्त्रालयले बजेट कार्यान्वयनको खाका तयार पारेर सार्वजनिकसमेत गरेका थिए । तर मन्त्रालयहरुले कार्य योजनालाई पछ्याउन नसक्दा आधाबर्षका अवधिको विकास खर्चको अवस्था ज्यादै निराशाजनक छ ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कूल बजेटको १६.२६ प्रतिशत मात्र विकास बजेट खर्च भएको छ । चालुु खर्चतर्फ १२.३३ प्रतिशत र पुँजीगत खर्चतर्फ १९.३७ प्रतिशत खर्च भएको हो ।
मुख्यमन्त्री शेरधन राई मातहतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा आधारित कुनै पनि कार्यक्रम कार्यान्वयन हुन नसकेको प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरका सूचना अधिकारी कुमार आचाईको भनाइ छ ।
आर्थिक वर्षको आधा समय गुज्रिँसक्दासमेत बजेट कार्यान्वयनको अवस्था न्यून देखिनुले सरकारले कार्यान्वयन गर्न सकिने योजना ल्याउन नसकेको प्राध्यापक डाक्टर अर्जुन बराल बताउँछन् ।
यता मुुख्यमन्त्री शेरधन राई पनि पहिलो चौमासिक खर्चप्रति सन्तुुष्ट देखिएका छैनन् । पहिलो चौमासिकको समीक्षा गर्दै दोस्रो चौमासिकमा प्रगति गर्ने लक्ष्य रहेको मुख्यमन्त्री राईको धारणा छ ।
आर्थिक वर्षको अन्त्यतिर हतार हतारमा विकासका काम गर्ने प्रबृत्ती अन्त्य गर्न प्रदेश सरकारले बजेट खर्चको कार्यतालिका तयार गरे पनि तालिकाअनुसार काम भने भएको देखिदैन । यसप्रति बेलैमा विचार पुर्याउनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved