काठमाडौं /प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको आन्तरिक विवादको समाधान खोज्न भइरहेको छलफल सकारात्मक दिशातिर बढेको छ ।शुक्रबारको बिहानको अध्यक्षद्ववबीचको भेट सकारात्मक निष्कर्षमा पुगेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजे भएको छलफलमा नेकपाका महासचिव विष्णु पौडेल तथा स्थायी समिति सदस्यहरू शंकर पोखरेल र जनार्दन शर्मा पनि सहभागी थिए ।उक्त छलफलमा दुवै अध्यक्षले पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका छन् ।
महासचिव पौडेलका अनुसार सो कार्यदलका अन्य सदस्यमा नेताहरू भीमबहादुर रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे छन् ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बिहान बसेको बैठकले कार्यदलमार्फत विवाद समाधानको उपाय खोज्ने निर्णय भएको नेकपा प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
थापाका अनुसार कार्यदललाई तीन जिम्मेवारी दिइएको छ । उनले भने, ‘आन्तरिक समस्याको सकारात्मक समाधान खोज्ने, एकतालाई अक्षुण राख्दै नेपाली जनताको जनादेशअनुसार प्रभावकारी रूपमा अगाडि बढ्न कार्यदलले ठोस प्रस्ताव गर्नेछ। ’
स्थायी कमिटीको बैठक सुचारु गर्ने विषयमा मतभेद भएपछि रोकिएको नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बिहीबारदेखि पुनः छलफल प्रारम्भ भएको थियो ।स्थायी कमिटी बैठक स्थगित भएको ९ दिन पछाडि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र दाहालबीच बालुवाटारमा दुई घण्टा छलफल भएको थियो ।
एक अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले बिहीबार पछाडिका पाँच दिनभित्रै सहमति हुने विश्वास दिलाएका थिए ।दुई अध्यक्षबीच गत साउन १८, १९ र २० गते वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको उपस्थितिमा बैठक बसेको थियो । तर, दुवै पक्ष अडानमा कायम रहेकाले सहमति हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved