केन्द्रमा कांग्रेस महाधिवेशनको रन्को,

  • प्रकाशित मितिः भदौ ३, २०७७
  • 923 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । नेपाली कांग्रेसको महाधिवेशन तयारी स्वरुप केन्द्रमा नेताहरूबीच गठनबन्धन गर्नेदेखि तालमेलसम्मका चर्चा चहिलरहँदा तल जिल्लामा भने कोरोना प्रभावले पार्टीका गतिविधि नै ठप्प भएका छन् ।

कोरोना समुदायस्तरसम्म फैलन थालेपछि जिल्ला, क्षेत्र, नगर र वडास्तरमा कांग्रेस महाधिवेशनसँग सम्बन्धित तयारी प्रभावित बनेको हो । संक्रमणको दृष्टिले मोरङ जिल्ला प्रदेश १ कै हटस्पट बनेको छ । कांग्रेसले यहाँ सुरु गरेको प्रशिक्षणका कार्यक्रम स्थगन भएको छ । यसैगरी क्रियाशील सदस्यता नवीकरण सुस्त गतिमा चलिरहेको छ । नयाँ क्रियाशील वितरणको प्रक्रियाको प्रारम्भिक कामसमेत सुरु हुन सकेको छैन । यसले तोकिएको समयमै महाधिवेशन सम्पन्‍न गर्न जिल्ला, क्षेत्र, नगर र वडास्तरमा गर्नुपर्ने कार्यमा विलम्ब हुने देखिएको छ ।

नेपाली कांग्रेस मोरङका अनुसार क्रियाशील सदस्यता नवीकरणका लागि जिल्लामा कुल १५ हजार २६१ थान फाराम वितरण भएको छ । तर, नयाँ सदस्यका लागि केही वितरण भएको छ भने धेरै बाँकी नै छ । लोकतान्त्रिक फोरमसँग पार्टी एकीकरणपछि मोरङमा पहिले तोकिएभन्दा क्रियाशील सदस्य बढ्ने देखिएको छ । पार्टी सचिव मोदराज घिमिरे भन्छन्, “केही काम अघि बढेको छ । १४ हजार ३ सय ७८ र थप ८८३ जनाका लागि फाराम पठाइएको थियो । फाराम भरेर धेरै आउन बाँकी नै छ । कोरोनाका कारण वडाबाट नगर हुँदै जिल्लासम्म आउन विलम्ब भएको हो ।” घिमिरेले नवीकरण फाराम जिल्लामा बुझाउन दबाब नदिइएको बताएका छन् । तर, सेड्युलअनुसार फाराम साउन महिनाभर जिल्लाले प्राप्त गरिसक्नुपर्ने थियो । अब भदौमा पनि आउने हो कि होइन भन्‍ने द्विविधा भएको घिमिरे बताउँछन् ।

केन्द्रबाट पहिले कायम रहेको कुल संख्याको ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने नीतिलाई परिमार्जन गरी शतप्रतिशत गरिएको छ । अब नयाँ नीतिअनुसार मोरङमा १५ हजार २६१ जना नै नयाँ सदस्य थपिनेछन् । नयाँ क्रियाशील सदस्यतामा किचलो नहोस् भनेर सकेसम्म क्षेत्रगत प्रतिनिधित्व मिलाउने कोसिस हुने घिरिमेले स्पष्ट गरेका छन् ।

“सकेसम्म अनियन्त्रित नहोस भन्‍ने नै छ । केन्द्रले निर्णय गरेकाले तल कार्यान्वयन गर्नैपर्छ । कोरोनाको कारण ढिलासुस्ती भएको हो,” घिमिरे भन्छन्, “कोरोनाको विषयमा रिस्क लिने कुरै भएन । कार्यकर्तालाई कोरोना लाग्यो भने झन् कठिन हुने भएकाले पार्टीले अहिलेलाई यो प्रक्रियामा जान हतार नगरेको हो ।” पछिल्लोपटक पार्टीले शतप्रतिशत क्रियाशील सदस्य बढाउने निर्णय गरेकाले आधा फाराम केन्द्रीय कार्यालयबाट ल्याउन बाँकी नै रहेको घिमिरेले जानकारी दिए ।

उनले भने, “पार्टीले संख्या थपेको छ । तर, कोरोनाका कारण थपेको संख्याको फाराम लिन काठमाडौं जान पाइएको छैन । पहिलो चरणमा साउन ३१ गते नवीकरण र नयाँ फाराम म आफैं गएर लिएर आएको थिएँ । साउनमै पूरा गर्ने समयसीमा थियो तर तलमाथि सामान्य अवस्थामा भदौसम्म बुझाई सक्नुपर्छ भन्ने हाम्रो तयारी छ । तर, बढ्ला जस्तो छ ।”

कांग्रेसका नेताहरूका अनुसार जिल्ला र क्षेत्रमा महाधिवेशनको खासै चहलपहल देखिएको छैन । मोरङमा पार्टीको नयाँ विधानको नियमअनुसार अहिले एउटा वडाबाट २५ देखि २६ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित भई जान सक्ने अवस्था भएको छ । पहिले एक गाविसबाट ५ जना प्रतिनिधि जान्थे तर तेह्रौं महाधिवेशनबाट जनसंख्याको अनुपात हेरेर संख्या बढाइएको छ । साना गाउँ विकास समिति नै अहिले पालिकामा एउटा वडा भएका छन् । तर त्यहाँ पनि प्रतिनिधि बढ्ने देखिएको छ ।

मोरङमा चुनिन्छन् ३२ सय प्रतिनिधि
मोरङमा ३२ सय क्षेत्रीय प्रतिनिधि चुनिन्छन् । उनीहरूले जिल्ला कार्यसमितिलाई भोट हाल्छन् । जिल्लामा ६ प्रतिनिधिसभा र १२ प्रदेश क्षेत्र छन् । योपटकबाट प्रदेश प्रतिनिधि पनि निर्वाचित भएर आउँदै छन् । गाउँ र वडाको निर्वाचन भएपछि प्रतिनिधिसभा र प्रदेश क्षेत्रमा निर्वाचन हुन्छ । सभापतिसहित प्रदेश महाधिवेशन प्रतिनिधि ‘क’ र ‘ख’ बाट १७-१७ जना प्रतिनिधि निर्वाचित भएर आउँछन् । तीन महिलासहित १० जना खुला र समावेशी ६ जना हुने प्रावधान छ ।

संघीय महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुने क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ जना चुनिन्छन् । त्यसमा चार महिलासहित १४ जना खुला र समावेशी १० जना चुनिन्छन् । मोरङमा केन्द्रीय महासमिति सदस्य ११ जना चुनिन्छन् । यसमा खुला दुई महिलासहित ७ जना र चारजना समावेशी हुनेछन् । कांग्रेसले जनसंख्याको अनुपातमा प्रतिनिधि चुन्ने प्रावधान राखेको छ ।

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले कोरोनाका कारण पार्टीका गतिविधिमा केही असर गरेको बताए । उनले भने, “हामीले सुरु गरेको प्रशिक्षणलाई तत्काल स्थगन गरिएको छ । पार्टीका तल्लो तहबाट समेत कोभिड १९ बाट बच्‍न जनमानसमा चेतना दिलाउने काम गरिरहेका छौं ।” लिम्बूले पार्टी गतिविधि विस्तारै सहज हुने अपेक्षा गरिएको सुनाए ।

विराटनगरसहितका क्षेत्रका कोरोना संक्रमण दर बढ्न सुरु भएसँगै कम जोखिमपूर्ण क्षेत्रहरूमा कांग्रेस नेतृत्व कार्यकर्ता प्रशिक्षण कार्यक्रम लिएर गाउँ प्रवेश गरेको थियो । यस क्रममा जिल्लाका १, २ र ३ नम्बर संघीय निर्वाचन क्षेत्रमा प्रशिक्षण कार्यक्रम सम्पन्‍न भइसकेको पार्टीका उपसभापति तथा जिल्ला नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक शिवनारायण सिंह गन्गाईले जानकारी दिएका छन् । “पार्टीको महाधिवेशन नै हुने भन्ने मिति तय भएको अवस्थामा नयाँ विधान, क्षेत्रगत संरचना, प्रदेश आदि धेरै विषयमा प्रशिक्षण आवश्यक रहेकोले कांग्रेस यो महामारीको जोखिममा पनि प्रशिक्षण कार्यक्रम लिएर कार्यकर्तामाझ पुगेको तर कोरोना बढेपछि रोकिएको हो,” उनले भने ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved