पोखरा । नेपाल ह्यान्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरू गरी १ सय १९ जनाको कोरोना बिमा गरेको छ ।
विश्वमा महामारीका रूपमा कोरोना फैलिएसँगै संघले आफ्ना जुनियर तथा सिनियर राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूको कोरोना बिमा गराएको हो । अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ (आईएचएफ)को सहयोगमा पहिलो चरणमा १ सय १९ जनाको कोरोना बिमा गरिएको संघका महासचिव सन्देश रेग्मीले जानकारी दिए ।
‘हामीले पहिलो चरणमा १ सय १९ जनाको बिमा गरेका छौं,’ महासचिव रेग्मीले भने, ‘अझै करिब ५० जना छन, एकैपटक नाम संकलनका लागि समस्या भएकाले यो साताभित्रै सबैको बिमा गर्दै छौं । सबै प्रदेश र जिल्लाबाट बिमा गर्न छुटेका खेलाडीको नाम संकलन गर्ने काम भइरहेको समेत उनले बताए ।
संघले जुनियर तथा सिनियर लेभलमा केही वर्षयता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीको कोरोना बिमा गराएको कोषाध्यक्ष मिठाराम अधिकारीले बताए । उनले कोभिड–१९ का कारण समस्यामा भएका खेलाडीहरूलाई समेत राहत बाँड्नका लागि सबै जिल्लाबाट नाम संकलन कार्य भइरहेको बताउँदै यसका लागि आर्थिक विनियमसमेत संघले तयार पारिसकेको जानकारी दिए ।
अन्तर्राष्टिय ह्यान्डबल महासंघ (आईएचएफ)ले विश्वव्यापी रूपमा महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्ध लड्न र नेपालको ह्यान्डबल खेल विकासका लागि भन्दै ६ हजार स्विस फ्र्यान्क नेपाल ह्यान्डबल संघलाई सहयोग गरेको अध्यक्ष तेज गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved