महिलाको जिम्मामा ग्रामीण सडक

  • प्रकाशित मितिः असार १३, २०७५
  • 1273 पटक पढिएको
  • Mausam

हातमा कोदालो, हँसिया र साबेल बोकेर ३३ वर्षीया सन्तोषी सुनार हरेका दिन बिहान घरबाट निस्कन्छिन् । घरबाट खाना–खाजा लिएर जाने उनी बेलुका अध्याँरो भएपछि मात्रै घर फर्किन्छिन् । ३३ वर्षीया सन्तोषी सुनार चुनिया–नामटार सडकको मर्मत सम्भारमा विगत ४ वर्षदेखि खटिएकी छन् ।

कुनै कार्यालयको जागिरेजस्तै उनले शनिबारबाहेक अन्य दिन छुट्टी पनि पाउँदिनन् । चुनिया–नामटारको १२ किलोमिटर लामो सडकको मर्मत सम्भार गर्न सुनारलगायत ७ महिलालाई जिल्ला प्राविधिक कार्यालयले जिम्मेवारी दिएको छ ।


उनीहरूले सडक मर्मत सम्भार नियमित ढंगले गरेकाले विगत ४ वर्षदेखि चुनिया–नामटार सडक हिउँदमा मात्र नभई वर्षायाममा पनि सञ्चालन हुने गरेको छ । महिलाले मर्मत सम्भारको जिम्मेवारी पाउनुअघि उक्त सडकमा हिउँदमा मात्र सवारीसाधन चल्थे । ‘सडकको जिम्मा महिलाले लिएपछि १२ महिना नै सवारीसाधन चल्न थालेका छन्,’ कैलाश गाउँपालिका ९ र १० का संयुक्त वडा सचिव मनोज लामिछानेले भने, ‘महिलालाई सडकको मर्मतको जिम्मा दिएपछि काम राम्रो भएको छ ।’ पुरुषले मात्र गर्दै आएको सडक मर्मतमा महिला खटिन थालेपछि त्यसको प्रभाव समाजमा सकारात्मक परेको छ । चुनिया नामटारको सडकमा सुनारको अगुवाइमा सविता बर्तौला, बिन्दा विक, लक्ष्मी चेपाङ, धनकुमारी तामाङ र सानुमाया थिङ मर्मत सम्भारमा खटिएका हुन् ।


मकवानपुरका ९ ग्रामीण सडकको मर्मत सम्भार महिलाको अगुवाईमा हुने गरेको हो । चुनिया–नामटार, फापरबारी–राईगाउँ–क्यान्टिन, दामन–डाँडाबास र डाँडाबास–गैरीगाउँ, हात्तीसुढे–शिखरपुर सडकलगायत ९ ग्रामीण सडकको मर्मतका लागि ७८ मजदुर कार्यरत छन् । त्यसमा ६० महिला छन् । मर्मत सम्भारको जिम्मा महिलालाई दिएकाले सडक सधैं सुचारु भइरहेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर सोमनाथ तिमल्सिनाले बताए । ‘सडक मर्मतरको जिम्मा महिलालाई दिएपछि वर्षायाममा पनि सडक सुचारु छ,’ उनले भने ।


राष्ट्रिय ग्रामीण सडक सुदृढीकरण कार्यक्रम (एसएनआरटीपी) ले चुनिया–नामटारको १२ किलोमिटर सडक मर्मत सम्भार गर्न ७ महिलालाई जिम्म दिएको छ । प्रतिव्यक्ति मासिक साढे १३ हजार रुपैयाँ तलब पाउने गरी उनीहरूलाई नियुक्त गरिएको हो । ‘ग्रामीण सडकको मर्मत सम्भारका लागि महिलालाई नै प्राथमिकता दिने गरेका छौं,’ इन्जिनियिर तिमल्सिनाले भने, ‘सडक मर्मत सम्भार गर्न महिलाहरू पनि सक्षम छन् भन्ने प्रमाणित गर्न र ग्रामीण भेगका महिलालाई रोजगारी दिने उद्देश्यले सम्भारकर्ताको रूपमा उनीहरूलाई राख्न थालेका हांै ।’ चुनिया नामटार सडकको मर्मत सम्भारमा जुटिरहेकी ३३ वर्षीया सुनारले भनिन्, ‘वनजंगल र खेतबारीको काम गर्दै आएका थियांै, अहिले सडकको मर्मत सम्भारको काम गर्न थालेका छौं, खासै केही फरक छैन् उस्तै हो ।’ सडक मर्मत सम्भार स्थानीय महिलालाई दिएपछि पुरुषले हेपेर बोल्ने गरेका थिए । ‘अहिले त्यसो भन्दैनन्,’ सुनारले भनिन्, ‘लोग्ने मानिस हामीले काम गरेको हेर्छन् अनि हिँड्छन् ।’ विगतका वर्षमा वर्षायाममा खाल्टाखुल्टीले चुनिया–नामटार सडकखण्डमा जेठदेखि सवारीसाधन आवतजावत गर्दैनथे तर महिलाले नियमितरुपमा मर्मत सम्भार गरेकाले सवारीसाधन चलिरहेका छन् । दिउँसो खाजा खान उनीहरूले घरबाट मकै भटमास, चिउरा बोकेर ल्याउने गर्छन् । वडा सचिव लामिछानेले महिलाहरू आफ्नो कामप्रति इमानदार र बफादार हुन्छन् भन्ने कुरा सडक मर्मत सम्भारबाट थप प्रमाणित भएको बताए । खहरेले सडकलाई बिगारे पनि महिलाले तुरुन्तै मर्मत सम्भार गरेर सडक सञ्चालनमा ल्याउने गरेको उनको भनाई छ । सडक मर्मत सम्भारको जिम्मेवारी लिएर महिलाले पुरुषलाई चुनौती पनि दिएका छन् । विशेष कारणले महिला आउन पाएनन् भने पुरुषलाई पठाउने गरेका छन् ।


पुरुषलाई महिनामा ४ दिनभन्दा बढी पठाउन भने पाइँदैन । सडक मर्मत सम्भारको जिम्मा पाएका महिलालाई एक वर्षको नियुक्ति दिने गरिएको छ । जिल्ला प्राविधिक कार्यालयका एक प्राविधिकले भने, ‘पुरुषभन्दा महिला इमानदार भएकाले सडकको सम्भारको जिम्मा पनि उनीहरूलाई दिइएको हो ।’


सडकमा खटिने महिलाले खाल्टाखुल्टी पुर्ने, नाली खन्ने, झारपात टिप्ने र सडकलाई सहज बनाउने जिम्मेवारी दिइएको छ । सडक विभागले अहिलेसम्म एकजना महिला पनि सडक सम्भारकर्ताको रूपमा राखेको छैन । ‘सडक सम्भारमा महिला पनि सक्षम र योग्य छन् भन्ने थप प्रमाणित गर्न उनीहरूलाई यो जिम्मेवारी दिएको’ स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले जनाए ।


उनले भने, ‘सडकको रेखदेख गर्ने कार्यमा महिला अब्बल देखिएका छन् ।’ चुनिया–नामटार सडकका महिलाले सडक भत्केको ठाउँमा स–सानो ढुंगाको पर्खाल पनि लगाउने गरेका छन् । भित्ता भत्केर सडक पुर्ने गरेको अवस्थामा उनीहरूले पर्खाल पनि लगाउने गरेका छन् 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved