काेराेना सन्त्रास : भारतमा आतंक, नेपालमा बेफिक्री

  • प्रकाशित मितिः पुष २२, २०७८
  • 1415 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । छिमेकी भारतमा एक सातामा कोरोना संक्रमण पाँच गुणाले बढेको छ । नेपालमा पनि एक सातामा संक्रमण दर दोब्बरले बढेको छ । यस्तो जोखिमपूणर् अवस्थामा खुला सिमानाबाट दैनिक हजारौं नागरिक ओहोरदोहोर गरिरहेका छन् । सरकारले नाकामा परीक्षण दर बढाउनुपर्नेमा आउने संख्याको तुलनामा झन् घटाएको छ ।

नेपालमा १४ पुसमा दुई सय २० नयाँ संक्रमित पुष्टि भएकामा २१ पुसमा चार सय ३५ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्या मात्रै होइन, संक्रमणदर पनि झन्डै दोब्बरले नै बढेको छ । दुई सय २० जनाको पजिटिभ रिपोर्ट आएको अघिल्लो बुधबार सात हजार ६ सय आठको नमुना परीक्षण भएको थियो, जुन संक्रमणदर २.८९ प्रतिशत हुन्छ । बुधबार चार सय ३५ मा संक्रमण पुष्टि हुँदा भने १० हजार दुई सय ६९ नमुना परीक्षण भएको थियो, जुन संक्रमणदर ४.२३ प्रतिशत हुन्छ ।

दुई साताअघिको तथ्यांकसँग तुलना गर्दा नेपालमा संक्रमण थोरै-थोरै गर्दै निरन्तर बढेको देखिन्छ । ४ पुसमा नौ हजार आठ सय ७२ नमुना परीक्षण गर्दा एक सय ८१ मात्रै पजिटिभ देखिएका थिए, जुन संक्रमणदर १.८३ प्रतिशत मात्रै हुन्छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार पछिल्ला दिन संक्रमित हुनेहरू भारतसँगका खुला नाका र हवाईमार्ग हुँदै आएका व्यक्ति धेरै छन् । नाकामा गरिएको एन्टिजेन परीक्षणमा आएका नतिजाले पनि यसलाई पुष्टि गर्छ । छिमेकी भारतमा नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिरहेको छ । युरोपमा त ओमिक्रोनसँगै आइएचयू भेरियन्ट पनि पुष्टि भएको छ ।

नेपालमा पहिलो पटक २० मंसिरमा दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू ३ मंसिरमा दक्षिण अफ्रिकाबाट आएका थिए । ७ पुसमा ५८ वर्षीय अर्का व्यक्तिमा पनि ओमिक्रोन पुष्टि भएको थियो । अहिले बढिरहेको संक्रमण ओमिक्रोन हो वा होइन पुष्टि गर्न सरकारले पर्याप्त मात्रामा परीक्षण गर्न सकेको छैन । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुणा झा जिन सिक्वेन्सिङमा ‘एस जिन’ नेगेटिभ देखिने संख्या बढ्दो क्रममा रहेकाले नेपालमा ओमिक्रोन नै फैलिएको बताउँछिन् ।

‘अहिले विश्वव्यापी रूपमै अल्फा भेरियन्ट (पुरानो) कम देखिएको छ । यही वेला ओमिक्रोन देखा पर्नु र एस जिन नेगेटिभको संख्या पनि बढ्नुले ओमिक्रोन संक्रमित नै बढेको पुष्टि गर्छ,’ उनले भनिन् । हाल ओमिक्रोन आशंकामा २४ नमुनाको जिन सिक्वेन्सिङ सुरु गरिएको र दुई दिनपछि नतिजा आउने झाले बताइन् ।

अल्फा भेरियन्ट नदेखिएकाले सरकारले ‘एस जिन’ नेगेटिभ आएका सबैलाई सीधै ओमिक्रोन नै पुष्टि गर्ने तयारी पनि गरेको छ । यस विषयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायत निकायबीच छलफल भइसकेको छ । अहिले जिन सिक्वेन्सिङका लागि घानमा हालिएका २४ नमुनाको नतिजा आउन्जेलसम्म कुरिएको स्रोतले बतायो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले पनि नेपालमा ‘ओमिक्रोन’ बढ्न थालेको अनुमान लगाएका छन् । नेपाल-भारत सीमानाकामा शून्यमा झरेको केस फेरि दैनिक रूपमा बढ्न थालेको र ती नमुनामा ‘एस जिन’ नदेखिएको उनले बताए ।

‘भारतसँगको सीमानाका र हवाईमार्गबाट आउनेहरू संक्रमित भेटिएका छन् । यो संख्या दिनदिनै बढिरहेको छ । र, उनीहरूको नमुना परीक्षणमा एस जिन नेगेटिभ देखिएको छ । यसको अर्थ ओमिक्रोन नै हो भन्ने हो,’ डा. पौडेलले भने, ‘अहिलेको अवस्था हेर्दा जनवरीको अन्तिमतिर नेपालमा संक्रमण बढ्ने अनुमान छ ।

स्वास्थ्य मन्त्रालयले गरायो ‘अलर्ट’
कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्न तीनै तहका सरकारले प्रभावकारी कदम चालेका छैनन् । यसअघि बनाइएका आइसोलेसन, क्वारेन्टिनलगायत संरचना पनि कायम छैनन् । जोखिमबाट जोगिन स्वास्थ्य मन्त्रालयले ‘अलर्ट’ भने गराएको छ ।

मन्त्रालयले कोरोनाको नयाँ लहर रोक्न र क्षति कम गराउन विगतमा सम्भव भएका कार्यालय घरबाट चलाउन, भिडभाड नगर्न, मास्क, स्यानिटाइजर नियमित प्रयोग गर्न तथा खोप नलगाएकालाई तुरुन्त लगाउन आग्रह गरेको छ । प्रदेश र स्थानीय सरकारलाई निर्देशन पनि दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तह, जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता अपनाउन निर्देशन दिएको हो ।

त्यस्तै, संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी क्वारेन्टिन तथा परीक्षण गर्न, सीमानाकामा प्रवेश गर्ने यात्रुहरूको प्रोटोकलअनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गहरूको पहिचान गरी खोप लगाउन र घरमै आइसोलेसन वा क्वारेन्टिनमा रहेका व्यक्तिहरूको फलोअप एवं मापदण्ड पालनाको निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ ।

थप मात्रा खोप रोकियो
संक्रमण बढ्न थालेपछि सरकारले कोरोनाविरुद्धको थप मात्रा खोप दिने अभियान रोकेको छ । ठूलो संख्यामा नागरिकले खोप नपाएको र नयाँ भेरियन्टको जोखिम बढेको भन्दै खोप नपाउनेलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने नीति मन्त्रालयले लिएको हो ।

सोमबार स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले ६० वर्षमाथि र दीर्घरोगीलाई कोरोनाको थप मात्रा खोप दिने निणर्य गरेको थियो । त्यसको २४ घन्टा नबित्दै स्वास्थ्य मन्त्रालयले महाशाखाको निणर्य रद्द गरेको हो । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले सबै नागरिकलाई कोभिडको पूर्ण मात्रा खोप उपलब्ध गराएपछि मात्रै थप मात्राको निणर्य गर्ने बताइन् ।

कतिले लगाए खोप ?
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार बुधबार दिउँसोसम्म तीन करोड ९२ लाख तीन हजार नौ सय २७ मात्रा खोप प्राप्त भएको छ । हालसम्म दुई करोड ५५ लाख २१ हजार ६ सय ३९ मात्रा खोप लगाइएको छ । एक करोड ४७ लाख १७ हजार दुई सय २६ जनाले एक मात्रा लगाएको र एक करोड आठ लाख चार हजार चार सय १३ जनाले पूणर् मात्रा लगाएको उनले बताए ।

सीमा नाकाको अवस्था

गड्डाचौकी कञ्चनपुर : संक्रमित बढ्दै, भारतबाट आउने सीधै घर पुग्छन्

दिल्लीबाट ३८० किलोमिटर दूरीमा रहेको गड्डाचौकी नाकाबाट भित्रिनेमा पजिटिभ रिपोर्ट आउनेको संख्या बढिरहेको छ । सोमबार चारजनामा देखिएकोमा मंगलबार नौजनामा पजिटिभ देखिएको छ ।

जमुनाह बाँके : रुपैडिहामा संक्रमण तीव्र, सबैको परीक्षण छैन

सीमावर्ती बजार रुपैडिहामा संक्रमण तीव्र छ । दैनिक सयौँ नेपाली र भारतीय नेपालगन्ज-रुपैडिहा आउजाउ गर्छन् । तर, जमुनाह नाकामा लखनउ दक्षिणबाट आउनेको मात्रै एन्टिजेन परीक्षण गरिएको छ ।

गौरीफन्टा धनगढी : दुई दिनमै ५७ जनामा संक्रमण

भारतबाट दैनिक करिब चार सय व्यक्ति गौरीफन्टा नाका भएर भित्रिन्छन् । नाकाको हेल्थ डेस्कका ल्याब टेक्निसियन जयराज ढुंगानाका अनुसार मंगलबार र बुधबार मात्रै ५७ जनमा पजिटिभ देखिएको छ ।

बेलहिया भैरहवा : हरेक दिन दोब्बरले बढ्न थाले संक्रमित

बेलहिया नाकामा केही दिनदेखि संक्रमितको संख्या दोब्बरले बढेको छ । दैनिक २५० भन्दा बढी व्यक्ति भित्रिने गरेको यो नाकामा सोमबार १०, मंगलबार १७ र बुधबार ३५ जनामा संक्रमण देखिएको छ ।

वीरगन्ज पर्सा : नाकामा भिड बढ्यो, परीक्षण अत्यन्त न्यून

वीरगन्ज नाका हुँदै भित्रिनेको संख्या बढेको छ । तर, परीक्षण बढेको छैन । सोमबार पाँच सय, मंगलबार सात सय र बुधबार आठ सयजना भित्रिएकोमा क्रमशः १३८, १४५ र १४८ को मात्रै परीक्षण भयो ।

जोगबनी विराटनगर : भित्रिनेको संख्या बढ्दै, परीक्षण झन् घट्दै

भारतबाट जोगबनी नाका हुँदै दैनिक पाँच सयदेखि सात सयको हाराहारीमा भित्रिने गरेका छन् । यो संख्या दैनिक बढ्दो छ, तर नाकामा रहेको हेल्थ डेस्कमा परीक्षण भने झन्झन् घटाइँदै छ ।

काँकडभिट्टा झापा : दैनिक हजार भित्रिन्छन्, ३० जनाको मात्रै परीक्षण

काँकडभिट्टा नाकाबाट सोमबार ८४१ जना भित्रिएकामा तीनजनाको मात्रै परीक्षण भयो । मंगलबार भित्रिएका ९२९ मध्ये ३० जनाको मात्रै परीक्षण भयो । बुधबार भित्रिनेको संख्या ११०३ पुग्दा परीक्षण भने झन् घटाएर २० जनाको मात्रै भयो । प्रहरीको तथ्यांकअनुसार १ पुसदेखि बुधबारसम्म १३,२५९ जना भित्रिएकोमा ४५८ को मात्रै एन्टिजेन परीक्षण गरिएको छ ।

भारतमा एक सातामा संक्रमण पाँच गुणाले बढ्यो : राजधानी दिल्लीमा सातामा दुई दिन कर्फ्यु
ओमिक्रोन भाइरस भित्रिएसँगै कोरोनाको तेस्रो लहर फैलिएको भारतमा एक सातामै संक्रमणदर झन्डै पाँच गुणाले बढेको छ । अघिल्लो बुधबार नौ हजार एक सय १५ जनामा संक्रमण पुष्टि भएकोमा बुधबार ४२ हजार एक सय ७४ जनामा कोरोना पजिटिभ देखिएको भारतीय स्वास्थ्य मन्त्रालयको रिपोर्ट छ । भारतमा बुधबार पाँच सय ३४ को मृत्यु भएको छ । संक्रमण बढेसँगै निजी कार्यालयमा कर्मचारीको भौतिक उपस्थिति घटाउँदै लगिएको छ । घरबाट काम गर्न निर्देशन गरिएको छ । सातामा दुई दिन राति कफ्र्यु लगाइएको छ । तर, संक्रमण बढ्ने क्रम रोकिएको छैन । नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved