काठमाडौं / बृहत् नागरिक आन्दोलनले संविधानले निर्दिष्ट गरे अनुसारका जनप्रतिनिधि थलोहरूलाई एकै दिन पनि रिक्त हुन नदिने र संसद्लाई पूर्ण कार्यकाल दिने गरी निर्वाचन कार्यतालिका अविलम्ब तय गर्न माग गरेको छ । सत्ता गठबन्धनले संविधानप्रति बेइमानी र सार्वभौम जनताप्रति अनादरको प्रयास गरेको नागरिक आन्दोलनको ठहर छ ।
शनिबार विज्ञप्ति जारी गरेर नागरिक आन्दोलनले भनेको छ, ‘कुन तहको निर्वाचन कहिले गर्ने भनेर निर्वाचनलाई सत्ता–स्वार्थकेन्द्रित राजनीतिक दाउपेचको विषय बनाउनु संविधानप्रति बेइमानी र सार्वभौम जनताप्रति अनादर हुने नागरिक आन्दोलनको ठहर छ ।नागरिक आन्दोलनले स्थानीय निर्वाचन सार्ने र संघीय एवम् प्रादेशिक निर्वाचन निर्धारित समय अगावै गर्नेबारे सत्ता गठबन्धनले सुरू गरेको छलफलको बिरोध गरेको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनभन्दा पहिला प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने प्रस्ताव राखेको विषय सार्वजनिक भए लगत्तै नागरिक आन्दोलनले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । आगामी ५ जेठदेखि स्थानीय तहका जनप्रतिनिधिको पदावधि समाप्त हुने भए पनि उनले ६ महीना स्थानीय तह खाली गर्ने गरी चुनावको मिति प्रस्ताव गरेका हुन्।
संसदको शीघ्र निर्वाचन गर्ने चाहना राजनीतिक दाउपेचमात्र होइन छ महिनामा दुई–दुई पटक संसद् विघटन गर्ने पूर्ववर्ती सरकारको प्रतिगमनको राजनीतिक अनुमोदन हुने नागरिक आन्दोलनको भनाई छ ।
आवधिक निर्वाचनको सुनिश्चितता लोकतन्त्रको न्यूनतम सर्त भएको भन्दै उसले भनेको छ, ‘त्यसका लागि निर्वाचनको कार्यतालिका पहिल्यै निश्चित गर्नु कुनै पनि लोकतान्त्रिक सरकारको संवैधानिक कर्तव्य हो ।’ नागरिक आन्दोलनमा वरिष्ठ पत्रकार नारायण वाग्ले, लेखक युग पाठक लगायत छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved