सुनसरीमा दुर्घटना : उद्धार गर्दागर्दै आगलागी, सवारीसाधनभित्रै जले तीन जना

  • प्रकाशित मितिः माघ २३, २०७८
  • 460 पटक पढिएको
  • समय अनलाइन

इटहरी । २५ वर्षीय निहाल प्रधान हेटौँडा जानका लागि झापाको काँकडभिट्टाबाट शुक्रबार साँझ ना ८ ख ८४९३ नम्बरको बसमा चढे ।भारतको पश्चिमबङ्गाल बस्ने उनी आफन्तको बिहेका लागि नेपाल आएका थिए ।

पश्चिमबङ्गालदेखि शुक्रबार दिउँसो काँकडभिट्टा आइपुगेका उनी हेटौँडाका लागि बस चढेका हुन् । तर निहाल हेटौँडास्थित आफन्तको बिहेमा पुग्नै सकेनन् । न त उनी अब कहिल्यै पुग्न नै सक्छन् ।

हेटौँडा हिँडेका उनले सुनसरी पनि कट्न पाएनन् । निहाल चढेको बस सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–३ र कोसी गाउँपालिका–१ को सिमानामा रहेको खुनिया पुलमा सिमेन्ट लोड गरिएको ना ५ ख २९९६ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटनामा पर्यो । त्यही दुर्घटनामा परेर उनको मृत्यु भयो ।

चालकदेखि पछाडिको सिटमा उनी बसेका थिए । दुर्घटनापछि सिटले च्याप्दा उनी बाहिर निस्कनै सकेनन् । न त उद्धार गरेर अरुले बाहिर निकाल्न नै सके । प्रहरी र स्थानीयले उद्धार थालेसँगै उनले आफूलाई बाहिर निकालिदिन हारगुहार गरेका थिए । खुट्टा काटेर भए पनि आफूलाई बाहिर निकालिदिन आग्रह गर्दै उनी चिच्याइरहे ।

उनलाई बाहिर निकाल्ने प्रयास पनि गरियो । तर सिटले कम्मरदेखि मुनिको भाग च्यापेपछि उद्धार सम्भव भएन । दुर्घटनामा परेको ट्रकमा केहीबेरमै आगलागी सुरु भयो । आगो बसमा पनि सल्कियो । बसभित्रै च्यापिएका निहालको दुर्घटनापछि दनदनी दन्किएको आगोमा जलेर मृत्यु भएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

उनका अनुसार झापाको काँकडभिट्टाबाट यात्रु लिएर काठमाडौंतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आउँदै गरेको सिमेन्ट लोड गरिएको ट्रक ठोक्किएर शुक्रबार साँझ ७ः३५ बजेतिर भयानक दुर्घटना भएको हो । दुर्घटनामा बसका यात्रु निहालसँगै बसका चालक झापाको हल्दिबारी गाउँपालिका–१ गोलधापका ४५ वर्षीय सरोज राई र ट्रक चालक बाराको निजगढ–९ का २७ वर्षीय शेख फिरोजको मृत्यु भयो ।

आगलागी सुरु हुनुअघि उनीहरु सवारीसाधनभित्रै च्यापिएको र घाइते अवस्थामा चिच्याइरहेका थिए । उद्धारका लागि उनीहरुले हारगुहार गरिरहँदा पनि बचाउन नसक्दा साह्रै पछुतो लागिरहेको उद्धारमा खटिएका एक प्रहरीले बताए । ‘बसको सिसा फुटाएर घाइते अवस्थाका अरुको यात्रुको उद्धार गर्न सफल भए पनि दुवै सवारीका चालक र बसका एक जना यात्रुभित्रै च्यापिएका थिए । खुट्टा काटेर भए पनि बाहिर निकालिदिनु भनेर हारगुहार गरिरहे,’ उनले भने, ‘बारम्बार बचाउ–बचाउ भनेर चिच्याइरहेको दर्दनाक दृश्य देखिरहँदा पनि आगो दन्किएपछि हाम्रो केही उपाय लागेन । सवारीसाधनभित्रै जलेर केही बेरमै उनीहरुको मृत्यु भयो ।’

बस र ट्रक ठोक्किएर दुर्घटना भएको केहीबेरमा दुवै सवारीसाधनमा भिषण आगलागी भएको थियो । च्यापिएकाहरुलाई बाहिर निकाल्ने प्रयास असफल हुँदा बस र ट्रकभित्रै जलेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलनजिकै रहेको प्रहरी टोली स्थानीयको सहयोग लिएर तत्कालै उद्धारमा खटिएको थियो । तर दुर्घटनाको केहीबेरमै बस र ट्रकमा आगलागी हुँदा उद्धारमा समस्या भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाले बताए । उनका अनुसार उद्धार कार्य जारी रहेका बेला ट्रकबाट अचानक आगलागी सुरु भएको हो । त्यसपछि बसमा पनि आगो सल्कियो ।

दमकलले पनि निभाउन सम्भव नभएपछि उद्धारमा कठिनाई हुँदा बस र ट्रकभित्र च्यापिएकामध्ये तीन जनाको त्यहीँ जलेर मृत्यु भएको जानकारी खतिवडाले दिए । उनका अनुसार उद्धारमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी र स्थानीय खटिएका थिए । ‘अधिकांश घाइतेहरु बसभित्र च्यापिएका थिए । उद्धार जारी रहेका बेला ट्रकबाट अचानक आगलागी सुरु भयो,’ उनले भने, ‘आगोको लप्कासँगै धुवाँको मुस्लो छुटेपछि उद्धार गर्न गाह्रो भयो । तर पनि सम्भव भएसम्म बसको सिसा फुटाउँदै घाइतेहरुलाई बाहिर निकालेर उपचारका लागि पठाइयो ।’

आगोले शरीररको सबै भाग जलेर चिन्नै नसक्ने अवस्थामा तीनवटा शवलाई पछि बाहिर निकालिएको थियो । एक प्रत्यक्षदर्शी दुर्घटनास्थलको दर्दनाक दृश्य हेर्नसक्ने अवस्थाकै नरहेको बताउँछन् । ‘बचाउ–बचाउ भनेर चिच्याएको र कराएको दर्दनाक दृश्य हेरेर बस्नेबाहेक अर्को विकल्प हामीसँग भएन,’ उनले भने, ‘उनीहरुलाई बाहिर निकाल्न सकिएन । हेर्दाहेर्दै तड्पाईतड्पाई आगोले जलाइदियो ।’ उद्धारमा खटिएका सशस्त्र र नेपाल प्रहरीको पोसाकसमेत आगोले जलेको थियो ।  

प्रहरीका अनुसार दुर्घटनामा २७ जना यात्रु घाइते भएका थिए । घाइतेहरुको मोरङ र सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अधिकांश घाइतेहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटना भएका बेला ट्रकभित्र भने चालकसँगै सहचालक बारा निजगढ–९ का ४३ वर्षीय दीपक श्रेष्ठ पनि थिए । दुर्घटनामा परेर घाइते भएका श्रेष्ठको उपचार जारी छ । बसको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved