इटहरी । साउन महिना लाग्दै गर्दा छिटाहाका श्रवण ऋषिदेवलाई बाढीको त्रासले सताउँछ । अघिल्लो वर्ष बाढीका कारण उनीसहित उनको परिवार केही दिन विस्थापित भएको थियो । शिविरमा बसेको थियो । उनको परिवारले बनाएको घर खोलाको बाढीले भेट्ने ठाउँमा थियो र भेट्यो पनि ।
तर बाढीसँगै आएको विपत् लगत्तै जुटेका संघसंस्थाको कारणले उनी र उनीजस्तै धेरै बाढी पीडितलाई राहत दियो । त्यसमध्ये एउटा संस्था थियो, जीवन विकास समाज । जीवन विकास समाजले आफ्ना सदस्यहरु बाढीमा पर्दा जनही एक हजार रुपैया सहयोग दियो । त्यतीमात्र होइन, बाढी पीडित बसेको शिविरमा उनीहरुलाई राखेर पकाएर खुवाउने समेत काम गर्यो ।
बाढी पीडित ठाउँ सुनसरीको छिटाहा शाखाका प्रबन्धक महेशकुमार यादवका अनुसार अघिल्लो वर्ष एक हजार ८०० जना सदस्यहरु पीडित थिए । उनले भने, ‘हामी बचत संकलन, ऋण परिचालन मात्र गर्दैनौं, आफ्ना सदस्यहरुलाई परीआउँदा सहयोगसमेत गर्छौं ।’
त्यसो त यस संस्थाले सदस्यहरुलाई शिक्षामा सहयोग गर्न सुलभ दरमा शिक्षा ऋण, स्वास्थ्यमा सहयोग गर्न तीन वटा स्वास्थ्य संस्थासँग सहमती गरेर सहुलीयत दरमा स्वास्थ्य जाँच गराउने व्यवस्था गरेको छ । त्यती मात्र होइन, आर्थिक अवस्था अत्यन्त न्युन भएको परिवारको घर बनाउनसमेत सहयोग गर्ने गरेको छ ।
सिमरिया शाखाका शाखा प्रमुख दीपककुमार राजवंशीकाअनुसार अघिल्लो वर्षको बाढीमा परेकाहरुलाई राहत दिनको लागि ५० हजार रुपैयाभन्दा बढी खर्च भएको उनले बताए ।
संस्थाले आफ्ना सदस्यहरुलाई विभिन्न आपत विपत पर्दा आर्थिक सहायतासमेत दिने गरेको छ । सदस्य आफ्नै मृत्यु भएमा परिवारलाई १० हजार रुपैया र परिवारका सदस्य कसैको मृत्यु भएमा पाँच हजार रुपैया दिने प्रावधान छ । ‘सदस्यलाई पर्दा संस्था छ है भन्ने सन्देश दिने गरेकोछ,’ उनले भने ।
उता सुनसरीकै मधुवन शाखामा वर्षेनी विभिन्न स्वास्थ्य शिविरहरु गर्ने गरिएको छ । सो शाखाका प्रमुख सन्तोष कार्कीकाअनुसार अपर्झट आउने विपत्तीमा परेकालाई राहत दिने, सरसफाइ गर्ने तथा हेल्थ क्याम्पहरु गर्ने गरिएको छ ।
हुन त जीवनविकास समाज संस्था वित्त परिचालन गर्ने संस्था हो । सुनसरी, मोरंग, झापा, इलाम, धनकुटा, उदयपुर र सिन्धुलीलगायत देशभरमा ७० भन्दा बढी शाखाहरुमार्फत् यसले दुई लाख सदस्यहरुलाई वित्तीय सेवा दिइरहेको छ । संस्थाले शिक्षादेखि आवाससम्मका प्रयोजनमा ऋण लगानी गर्ने गरेको छ । तर त्यसबाहेक पनि धेरै सामाजिक काम गर्ने गरेको छ । आफ्ना सदस्यहरुको शिक्षा, स्वास्थ्य, आवासप्रति सचेत देखिन्छ ।
संस्थाले देशैभरी भने स्वास्थ्य शिविर, पीडितहरुलाई राहत, विपन्न र अपांगता भएकाहरुको घर बनाइदिने लगायतका धेरै सामाजिक कामहरु संस्थाको तर्फबाट गर्दै आएको छ ।
वित्तीय कारोबारसँगै सामाजिक कामहरुसमेत गरिरहेको जीवन विकास समाजले आफ्ना सदस्यहरुलाई सुकुम्बासी कोही नहोस् भन्ने लक्ष्यसमेत लिएको छ । सोअनुसार जग्गा किन्नको लागि समेत ऋण दिएर प्रोत्साहित गरिरहेको छ ।
