इटहरी- स्थानीय तहहरूले धमाधम बजेट सार्वजनिक गर्न थालेका छन्। असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएअनुरूप स्थानीय तहहरूले बजेट सार्वजनिक गरेका छन्।
सुनसरीमा रहेको १२ वटा स्थानीय तहमध्ये अधिकांश पालिकाले बजेट सार्वजनिक गर्दा धरानले भने ल्याउन सकेन। धरानमा तयारी पूरा नभएकाले बजेट ल्याउन नसकेको जनाएको छ। बजेट तर्जुमा समितिको बैठक नै बस्न नसकिएको र मेयर मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघाबीचको विवादका कारण नगरसभा बस्न सकेन।
गत आइतबार धरानमा बसेको कार्यपालिका बैठक १५ मिनेटमै स्थगित भएपछि पुनः कार्यपालिका बैठक बस्न नसक्दा नगरसभा भएन। खासगरी धरान–१६ स्थित बहुभाषिक विद्यालयको ग्याबिन पर्खाल निर्माणमा प्रयोग गरिएको जालीको भुक्तानीसम्बन्धी विषयले नै विवाद उत्कर्षमा पुगेपछि बजेट ल्याउन नसकिएको हो।
इटहरीको बजेट २ अर्ब ५५ करोड
इटहरी उपमहानगरपालिकाले चालु आर्थिक वर्षभन्दा एक अर्ब रुपैयाँभन्दा बढी घटाएर बजेट ल्याएको छ। आगामी आर्थिक वर्ष २०८२।८३ का लागि २ अर्ब ५५ करोड २१ लाख बजेट सार्वजनिक गरिएको हो। उपुप्रमुख संगीता कुमारी चौधरीले नगरसभामा प्रस्तुत गरेको विवरण अनुसार चालु खर्चतर्फ १ अर्ब ४ करोड ११ लाख १० हजार छुट्याएको छ। यस्तै, वित्तीय व्यवस्थातर्फ साँवा र ब्याज भुक्तानीका लागि ९० लाख र पुँजीगत खर्चतर्फ १ अर्ब ३० करोड १९ लाख ९० हजार विनियोजन गरिएको जनाइएको छ।
उपमहानगरले यस वर्ष ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा एक अर्ब भन्दा कमको हो। चालू आर्थिक वर्ष उपमहानगरले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट ल्याएको थियो। गत वर्ष महत्वाकांक्षी बजेट ल्याएको भन्दै आलोचनासमेत भएको थियो।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved