शक्ति–उन्माद

  • प्रकाशित मितिः असार २५, २०७५
  • 997 पटक पढिएको
  • Mausam

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई शनिबार जसरी त्रिभुवन विमानस्थलबाट जबरजस्ती फर्काएर प्रधानमन्त्री निवास पुर्‍याएर ‘नियन्त्रण’मा राखियो, त्यो घटना अपमानजन्य र निन्दनीय छ ।

क्यानडाको भ्यानकोभर सहरमा हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन सात सदस्यीय टोलीको नेतृत्व गर्दै जान लागेका कोइरालालाई ‘बोर्डिङ पास’ लिएर विमान चढ्न लागेका बेला फर्काइएको थियो ।

उपकुलपतिजस्तो प्राज्ञिक र मर्यादित पदमा रहेका व्यक्तिमाथि भएको यस हर्कतले सरकारमा शक्ति उन्माद बढेको संकेत गरेको छ । प्रहरी राजको झल्को दिने यो कदमले विश्वविद्यालयको उच्च प्राज्ञिक पदको मात्रै अपमान गरेको छैन, लोकतन्त्र र विधिको शासनको पनि खिल्ली उडाएको छ । र, मुलुकभित्र–बाहिर स्वयं प्रधानमन्त्री अनि सरकारकै छवि धमिल्याएको छ ।

उपकुलपति कोइरालालाई प्रधानमन्त्री केपी ओलीले भेट्न खोजेको भन्दै विमानस्थल प्रहरीले नियन्त्रणमा लिए पनि त्यो उनलाई उड्न नदिने बहाना मात्र थियो । विमानस्थलबाट उनलाई प्रधानमन्त्री निवास, बालुवाटार पुर्‍याएर करिब एक घण्टा ‘नियन्त्रण’मा राखेर विमान उडेपछि मात्रै छाडिएको थियो । घटनापछि सरकारसम्बद्ध अधिकारीहरूले विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीको अनुमतिबिनै भ्रमणमा निस्कन लागेकाले उनलाई रोक्नुपरेको प्रस्टीकरण दिएका छन् ।

निश्चय पनि सार्वजनिक जिम्मेवारीमा बसेका व्यक्तिले बिनास्वीकृति विदेश भ्रमण गर्न मिल्दैन । तर त्यसरी भ्रमणमा जान लागेको व्यक्तिलाई रोक्ने र कारबाही गर्ने प्रक्रिया विधिसम्मत हुनु अनिवार्य छ । त्यसविपरीत कोइरालालाई जसरी प्रहरीको ‘पक्राउ–सूची’ मा भएको व्यक्तिलाई झैं व्यवहार गरिएको छ, त्यो अशोभनीय मात्र होइन, गैरकानुनी पनि छ ।

उपकुलपति कोइरालाले भने आफूले सहकुलपति रहेका शिक्षामन्त्रीमार्फत प्रधानमन्त्रीसमक्ष जानकारी दिएको दाबी गरेका छन् । त्यसैले एक त, यो भ्रमण स्वीकृतिको प्रसंग नै विवादास्पद छ । दोस्रो, उपकुलपतिले स्वीकृति नलिएकै भए पनि कारबाहीको निश्चित प्रक्रिया थियो ।

उपकुलपतिले कुनै गलत वा त्रुटिपूर्ण काम गरेको भए विश्वविद्यालय सभा अर्थात् सिनेटबाट कुलपतिको हैसियतमा प्रधानमन्त्री वा सहकुलपतिको हैसियतमा शिक्षामन्त्रीले कारबाहीको प्रस्तावसहित समिति गठन गरेर छानबिन गर्न सक्थे । र, दोषी देखिए बर्खास्त गर्न सक्थे । विश्वविद्यालयको कुलपति आफैंमा कार्यकारी पद नभएकाले प्रधानमन्त्रीले यो शैलीको ठाडो आदेश दिन पटक्कै सुहाउँदैनथ्यो ।

यदि प्रधानमन्त्रीका नाममा प्रधानमन्त्री कार्यालयका अधिकारीले शक्तिको दुरुपयोग गरेका हुन् भने सम्बन्धितलाई कारबाही गरेर त्यसबारे सार्वजनिक जानकारी दिनुपर्छ । साथै उपकुलपति कोइरालाविरुद्धको यो हर्कतलाई लिएर सरकारले माफी माग्नुपर्छ ।

कुनै गम्भीर कसुरबिनै उपकुलपतिलाई प्रहरी अधिकारीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास पु‍र्‍याएको यो घटना निकै गम्भीर हो । कोइरालालाई प्रहरी परिचालन गरी जुन ढंगले बालुवाटार लगियो, त्यो कानुनी दृष्टिले हेर्दा ‘अपहरण’ को आरोप आकर्षित हुन सक्ने घटना हो । अधिकार नभएको व्यक्तिले अर्को स्वतन्त्र नागरिकलाई जानकारी नै नदिई कानुनी आधारबिना नियन्त्रणमा लिनु ‘अपहरण’ हो ।

कोइरालामाथि कुनै फौजदारी आरोप थियो भने सम्बन्धित जिल्लाको प्रहरीले मात्रै उनलाई पक्राउ गर्न मिल्छ । अरू कुनै व्यक्तिले यही कार्यशैली अपनाएको भए ‘अपहरण’ को आरोपमा फौजदारी अभियोग नै आकर्षित हुन सक्थ्यो ।

प्रधानमन्त्री निवास प्राज्ञिक व्यक्तित्वलाई नियन्त्रणमा लिने र प्रत्यक्ष–अप्रत्यक्ष मनोवैज्ञानिक यातना दिने थलो हुँदै होइन । यसरी प्रधानमन्त्रीको सरकारी निवासलाई ‘प्रहरी थाना’ जस्तो यसअघि सायदै बनाइएको थियो । निज कोइरालालाई अपमान गर्न र सरकारले नरुचाएका उनीजस्ता अरू नागरिकको तेजोबध गर्न सुविचारित र नियोजित ढंगले यस्तो कदम चालिएको देखिन्छ, जुन निकै खेदजनक छ ।

लोकतान्त्रिक राज्यका लागि कत्ति पनि नसुहाउने घटना भएको छ यो । तसर्थ, सार्वजनिक व्यक्तिहरूको बिनास्वीकृति विदेश भ्रमण गर्ने प्रचलन रोक्न जति जरुरी छ, त्यति नै आवश्यक छ– सत्ता र शक्तिमा बसेकाहरूको नियन्त्रणमुखी प्रवृत्तिमा लगाम लाग्न पनि ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved