इटहरी /धनकुटा इटहरी सम्पर्क समाजका अध्यक्ष देबधु कार्कीको नेतृत्वमा समाजको आफ्नै भवन निर्माण कार्यको शुभारम्भ गरिएको छ। बिहीबार इटहरी–२ मायाघर पछाडि आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलद्वारा भवन शिलान्यास सम्पन्न भयो।
कार्यक्रममा अध्यक्ष कार्कीले भवन निर्माण समाजको दीर्घकालीन सपना भएको उल्लेख गर्दै यसले इटहरीमा बसोबास गर्ने धनकुटेलीहरूलाई अझ संगठित र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।इटहरीमा क्रियाशील धनकुटा–इटहरी सम्पर्क समाजको आफ्नै भवन निर्माणका लागि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। इटहरी–सुनसरी क्षेत्रमा बसोबास गर्दै आएका धनकुटेलीहरूको साझा संस्था धनकुटा–इटहरी सम्पर्क समाजले संस्थागत विकास र दीर्घकालीन स्थायित्वको लक्ष्यसहित भवन निर्माण कार्य अघि बढाएको हो।
समाजको भवन शिलान्यास कार्यक्रम इटहरी उपमहानगरपालिकाका नगर प्रमुख तथा संस्थाका सल्लाहकार श्री हेमकर्ण पौडेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उहाँको बाहुलीबाट विधिवत रूपमा शिलान्यास गरिएको उक्त भवन संस्थाको दीर्घकालीन योजनाअनुसार निर्माण गरिन लागेको बताइएको छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले समाजले इटहरीमा बसोबास गर्ने धनकुटेलीहरूलाई एकताबद्ध बनाउँदै सामाजिक, सांस्कृतिक तथा आपसी सहयोगको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो। उहाँले भवन निर्माणपछि संस्थाका गतिविधिहरू अझ व्यवस्थित र प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो।
धनकुटा–इटहरी सम्पर्क समाज विगतदेखि नै इटहरी क्षेत्रमा बसोबास गर्ने धनकुटा जिल्लाका नागरिकहरूबीच आपसी सम्बन्ध सुदृढ गर्ने, सामाजिक एकता कायम गर्ने तथा आवश्यक पर्दा सहयोग आदान–प्रदान गर्ने साझा मञ्चका रूपमा सक्रिय रहँदै आएको छ। समाजले विभिन्न सामाजिक, सांस्कृतिक तथा मानवीय कार्यहरू सञ्चालन गर्दै आएको छ।
अब आफ्नै भवन निर्माणसँगै संस्थाका कार्यक्रमहरू सञ्चालन गर्न सहजता आउने, बैठक, अन्तरक्रिया, सामाजिक कार्यक्रम तथा आपतकालीन सहयोग व्यवस्थापन गर्न थप सुदृढ आधार तयार हुने अपेक्षा गरिएको छ।
वि.सं. २०८२ साल मंसिर १४ गते बिहीबार इटहरी–२ मायाघर पछाडि सम्पन्न उक्त शिलान्यास कार्यक्रमले इटहरीमा रहेका धनकुटेलीहरूको साझा पहिचान र एकताको प्रतीकका रूपमा नयाँ अध्यायको सुरुवात गरेको छ।
स्थानीय धनकुटेलीहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले समाजप्रतिको अपनत्व र प्रतिबद्धता झल्काएको थियो। भवन निर्माण सम्पन्न भएपछि समाजको गतिविधि अझ विस्तार हुने र नयाँ पुस्तालाई समेत जोड्ने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved