उदयपुरको बेलका ५ मा पुल नबन्दा सास्ती: सांसद गेलालको ध्यानाकर्षण गराउँदै अभियन्ता जीवन बुढाथोकी
उदयपुरको बेलका नगरपालिका वडा नम्बर ५ का बासिन्दाले वर्षायाममा बर्सेनि भोग्दै आएको सास्ती र विकासका अधुरा योजनाप्रति सामाजिक अभियन्ता जीवन बुढाथोकीले जनप्रतिनिधिको ध्यानाकर्षण गराउनुभएको छ। विगत लामो समयदेखि बेलकाको विकास, सुशासन र जनताको अधिकारका लागि आवाज उठाउँदै आउनुभएका अभियन्ता बुढाथोकीले विशेषगरी सुपाडेदेखि शिखरमाडी र खयरबनी जाेड्ने गिदेरी खोला पक्की पुलकाे डिपिअार धेरै पहिले भएकाे भए पनि अहिलेसम्म बजेट बिनियाेजन नभएकाे भन्दै चिन्ता व्यक्त गर्नुभएको हो।
सुपाडेदेखि खयरवनी र शिखरमाडी जोड्ने सडक खण्डको गिदेरी खोलामा पुल निर्माणको प्रक्रिया चार वर्षअघि नै सुरु भएको थियो। आर्थिक वर्ष २०७७ /७८ मा संघीय कार्यक्रममा समावेश गरिएको उक्त योजनाको डिपिआर समेत तयार भइसकेको छ। पूर्वाधार विकास कार्यालय, उदयपुरले समेत यस योजनालाई प्राथमिकतामा राख्न सिफारिस गरेको थियो। तर, प्रशासनिक र बजेट विनियोजन नभएका कारण निर्माण कार्य अघि बढ्न नसक्दा स्थानीय बासिन्दा वर्षामा भेलको जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।
सामाजिक अभियन्ता जीवन बुढाथोकीले यस समस्यालाई लिएर उदयपुर क्षेत्र नम्बर १ का सांसद पारसमणि गेलालको ध्यानाकर्षण गराउनुभएको छ। "वर्षाको समयमा खोलामा पानीको बहाव बढ्दा खयरवनी र शिखरमाडीका बासिन्दाको जनजीवन कष्टकर बन्छ। बिरामी पर्दा एम्बुलेन्ससमेत गाउँसम्म आउन सक्दैन," अभियन्ता बुढाथोकीले भन्नुभयो, "यो केवल बाटोको समस्या होइन, नागरिकको स्वास्थ्य र सुरक्षामाथिको गम्भीर चुनौती हो।"
उहाँले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सांसद गेलाललाई आगामी आर्थिक वर्ष २०८३/८४ को योजनामा यस पुललाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गराउन आग्रह गर्नुभएको छ। "विकासका योजना कागजमा मात्र सीमित हुनुहुँदैन, व्यवहारमा देखिनुपर्छ," उहाँको भनाइ छ।
उहाँले उदयपुर क्षेत्र नम्बर १ बाट निर्वाचित जनप्रतिनिधि, विशेषगरी उदयपुर क्षेत्र नम्बर १ का सांसद पारसमणि गेलाललाई सम्बोधन गर्दै यो समस्याको समाधानका लागि तत्काल पहल गर्न आग्रह गर्नुभएको छ। अभियन्ता बुढाथोकीले व्यक्तिगत रूपमा पनि पटक-पटक यसबारे जानकारी गराउँदै आएको स्मरण गराउँदै यसपटक भिडियोमार्फत सार्वजनिक रूपमै ध्यानाकर्षण गराउनुभएको हो।
"माननीय सांसदज्यू, खयरबनी र शिखरमाडीका जनताले तपाईँप्रति ठूलो भरोसा राखेका छन्," बुढाथोकीले भन्नुभएको छ, "आगामी आर्थिक वर्षको योजनामा यो पुल निर्माण कार्यलाई प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याइदिनुहुन म सम्पूर्ण बेलकाबासीको तर्फबाट अनुरोध गर्दछु।"
वर्षायाममा खोला तर्न खोज्दा सवारी साधनहरू बीचैमा फस्ने र सर्वसाधारणले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यताको भिडियो दृश्य समेत सार्वजनिक गर्दै उहाँले विकासका योजना कागजमा मात्र सीमित नभई व्यवहारमा देखिनुपर्नेमा जोड दिनुभएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved