इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशले इटहरी–१ निवासी रोशन बस्नेतलाई प्रदेश श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा मनोनित गरेको छ। पार्टीले श्रमिक, उपभोक्ता, स्वास्थ्य, शिक्षा तथा जनसरोकारका विविध विषयमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वासका साथ उनलाई उक्त जिम्मेवारी प्रदान गरेको हो।
कोशी प्रदेशका महामन्त्री लाल विक्रम थापाद्वारा जारी मनोनयन पत्रअनुसार बस्नेतले पार्टीको नीति, सिद्धान्त र विधानको मर्मअनुसार विभागीय गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ। पछिल्लो समय श्रमिकको हकअधिकार, उपभोक्ता संरक्षण, स्वास्थ्य सेवाको पहुँच, बजार अनुगमन तथा जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयहरूमा बढ्दो चासोलाई मध्यनजर गर्दै उनको नियुक्तिलाई महत्वपूर्ण मानिएको छ।
नवनियुक्त बस्नेत सामाजिक तथा जनसरोकारका विषयमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। उनले श्रमिकका समस्या, उपभोक्तामाथि हुने ठगी, स्वास्थ्य सेवामा देखिएका चुनौती तथा नागरिकका दैनिक सरोकारका मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले प्रदेशभर श्रमिक, उपभोक्ता, स्वास्थ्यकर्मी, व्यवसायी तथा सरोकारवाला निकायसँग समन्वय गरी जनहितका कार्यक्रम सञ्चालन गर्ने, जनचेतना अभिवृद्धि गर्ने तथा नागरिकका गुनासा सम्बन्धित निकायसम्म पुर्याउने योजना रहेको बताएका छन्।
रास्वपा कोशी प्रदेशले बस्नेतको नेतृत्वमा विभागले श्रमिक तथा उपभोक्ताको हित संरक्षणसँगै स्वास्थ्य, शिक्षा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। उनको नियुक्तिसँगै जनसरोकारका विषयमा थप प्रभावकारी आवाज उठ्ने र नागरिकका अपेक्षाअनुसार काम हुने आशा गरिएको छ।
राजनीतिक, सामाजिक तथा व्यावसायिक क्षेत्रका व्यक्तित्वहरूले बस्नेतलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रदेशका श्रमिक, उपभोक्ता तथा आम नागरिकको हितमा उल्लेखनीय कार्यसम्पादन हुने विश्वास व्यक्त गरेका छन्
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved