किन घट्दै छ रुद्राक्षको मूल्य ?

  • प्रकाशित मितिः साउन २, २०७५
  • 2180 पटक पढिएको
  • समय अनलाइन

संखुवासभा  / रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा उत्पादन हुन्छ । रुद्राक्षको एकै बोटमा एक पटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दानाहरू फल्दछन् । रुद्राक्ष रहस्य नामक पुस्तकका अनुसार रुद्राक्ष २७ मुखीसम्म फल्छ भने हालैको खोज अनुसार संसार भरि ३८ मुखीसम्म रुद्राक्ष फलेको पाइएको खुलेको छ । तर सामान्यतः १ देखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छन् । पश्चिम नेपालको कास्की, स्याङ्जा, पाल्पा, गुल्मी र पूर्वी नेपालको भोजपुर, संखुवासभा र धनकुटामा बढी पाइन्छ । यसमध्ये पनि बढी उत्पादनको रुपमा भोजपुर र संखुवासभालाई लिइन्छ । नेपाल लगायत भारत, मलेसिया, थाइल्याण्ड, इण्डोनेसिया तथा अस्ट्रेलियामा पनि रुद्राक्ष पाइन्छ । यी देशहरुमा रुद्राक्षको फरक प्रजाति र हावापानी अनुसार गुणस्तर समेत फरक हुन्छन् । विश्वभरमा १२३ प्रजातिका रुद्राक्ष पाइएका छन् ।
धार्मिक परम्परा अनुसार हिन्दु धर्मावलम्बीहरुले जपतपका रुपमा रुद्राक्ष अर्थात दानाको माला प्रयोग गर्दै आएको पाइन्छ । हिन्दु बाहेक बौद्ध धर्मीहरुले समेत मन्त्रोच्चारण र जपतपका बेला दानाको माला प्रयोग गर्छन् । हिन्दु धर्मका अनुसार रुद्र भनेको शिव भगवान र रुद्रको आँखाबाट खसेको आँशु पृथ्वीमा परेपछी उत्पती भएको वनस्पती भएकाले यसलाई रुद्राक्ष भनीएको हो । रुद्राक्ष देवताको बास भएको र शक्ति वृक्षको रुपमा लिइन्छ । त्यसैले टुनामुना गर्ने जादुगरहरुले समेत यसको प्रयोग गर्छन् । विद्वानहरुको भनाई अनुसार रुद्राक्षको माला धारण गर्नाले मानिसको शरीरमा प्राणको नियमन भै कैयौ प्रकारका शारीरिक तथा मानसिक विकारबाट रक्षा हुने गर्दछ । यस्को माला लगाउनाले हृदयविकार तथा रक्तचाप आदि रोगहरुमा विशेष लाभ हुन्छ । आयुर्वेद विज्ञानमा रुद्राक्षलाई महाऔषधिको रुपमा लिइन्छ । पुराणमा उल्लेख भएअनुसार सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् भन्ने रुद्राक्षको रोचक तथ्य हो ।
रुद्राक्षको चैत्र महिना देखि फूल फुल्न सुरु हुन्छ । साउन अन्त्य देखि नै बेशीँ र फाँटीला क्षेत्रहरुमा यसको दाना छिप्पीएको हुन्छ, अर्थात् बिक्रिका लागि योग्य बन्छ । तर चिस्यानी तथा लेकाली क्षेत्रहरुमा केही महिना ढिलो छिप्पीने गर्छ । भाद्र महिनादेखि मंसिर महिनामा रुद्राक्ष पाक्छ । यसरी हेर्दा ६ महिनामा बेच्नका लागि योग्य रुद्राक्ष बन्छ भने करिब १० महिनामा पाकेर झरिसकेको हुन्छ । रुद्राक्षको बाह्रै महिना बिक्रि वितरण भएपनि उत्पादनको हिसाबले साउनदेखि मंसिर अर्थात् पाँच महिना यसको बिक्रि वितरण धेरै हुने गरेको छ । बिरुवा रोपेको करिब पाँच वर्ष पछि यस्ले रुद्राक्ष उत्पादन गर्छ ।
रुद्राक्षको पहिचान कसरी र कहाँ भयो भन्ने यकिन नभएपनि नेपालमा पहिलो पटक धरानको पिण्डेश्वर क्षेत्रबाट रुद्राक्षको बिस्तार भएको शिव पुराणमा उल्लेख गरिएको छ । तर बालागुरु षडानन्दले भारतबाट बिरुवा ल्याएर भोजपुर जिल्लाको दिङ्लामा नेपालमा पहिलो पटक रुद्राक्षको बिरुवा उत्पादन गरेको बताइन्छ । उनले लगाएका १०८ वनस्पति बगैंचामा रुद्राक्षको समेत बोट रहेको रुद्राक्षको अनुसन्धान कर्ता र बालागुरुको जीवनी लेखन कर्ताहरुले पुस्तकमा उल्लेख गरेका छन् ।

नेपालमा पहाडी जिल्लाहरुबाट उत्पादन सुरु गरिएको रुद्राक्ष विक्रि वितरण कहिले देखि भयो भन्ने यकिन छैन । पहिले धार्मिक आस्थाका आधारमा मन्दिर, बिहार, गुम्बा लगायतमा यसको माला बनाएर चढाउने चलन थियो । विभिन्न जपतपका लागि पनि यसको प्रयोग गरिन्छ । रुद्राक्षको विषयमा जानकारहरुका अनुसार १ देखि ३ र ७ भन्दा धेरै मुख भएको मुखिदार दाना थोरै मूल्यमा किनबेच हुन थाल्यो । १–३ र ७–१५ मुखि रुद्राक्षको थोरै मूल्यमा विक्रि वितरण सुरु भयो । यो भन्दा धेरै मुखीका रुद्राक्ष अलि धेरै मूल्यमा बिक्रि हुने गरेको बताइन्छ । जुन बेला खरिद गरिएका र बिक्रि गरिका रुद्राक्षहरु पशुपति क्षेत्र, बराह क्षेत्र, अर्जुन धारा लगायतका धाममा बस्ने पुजारी, साधु, सन्त, जादुगर र धनी व्यक्तिहरुले माला र ध्यान जपमा प्रयोग गरेको बताइन्छ । नेपालमा उत्पादीत मुखदार रुद्राक्ष छिमेकी मुलुक भारततर्फ विक्रि हुन थाले पछी यसको मूल्य पनि बृद्धी हुन थाल्यो । सुरुमा धेरै मूल्य नतोकिए पनि कम उत्पादनका कारण क्रमश मूल्य बढेको हो । प्राय ४, ५ र ६ मुखी रुद्राक्ष धेरै उत्पादन हुने भएकाले विक्रिका लागि चल्ती मानिएका मुखिदार कम उत्पादन भएकाले यसको परिमाण थोरै रहेको थियो । जुनबेला रुद्राक्षका ब्यापारीहरु समेत सिमित थिए ।

करिब ७ वर्ष अघिदेखि छिमेकी मुलुक चीनले समेत रुद्राक्ष खरिद गर्न थालेपछी यसको मूल्य आकासिएको हो । भारत र चीन दुवैले यसको खरिद गर्न थालेपछि रुद्राक्ष बहुमूल्य बन्यो । चीनले रुद्राक्षको व्यापार सुरु गरेदेखि झन्डै ४ वर्ष उत्पादन भए जति अर्थात भारतले खरिद नगर्ने ५, ६ र ७ मुखि समेत खरिद गरे । उत्पादन भए जति बिक्रि हुने भएपछि कृषकहरुले समेत यसबाट राम्रो आम्दानी पाए । भारतले खरिद नगरेका र कुहिएर खेरजाने रुद्राक्षको समेत प्रतिगोटाका दरले र प्रतिकेजीको हिसाबले रुद्राक्षको मूल्य पाएपछि कृषकहरुको मूख्य आम्दानीको स्रोत बनेको थियो । भने रुद्राक्ष व्यवसायिहरु पनि उसै गरी लाभाम्वित भए । तर चिनिया व्यापारी नै कृषकको घरघरमा पुगेर रुद्राक्ष खरिद गर्न थाले पछि स्थानीय व्यापारीहरुलाई समस्या भएको थियो । कृषकबाट खरिद गरेर चिनियाँ र भारतीय व्यापारीलाई बिक्रि गरेर स्थानीय व्यापारीहरुले नाफा कमाउने गरेका थिए । तर चिनियाँ र भारतीय व्यापारीहरुले कृषक सामु पुगेर रुद्राक्ष खरिद गरेपछी स्थानीय व्यापारीहरुको नाफा लिने ठाउँ नपाएपछि उनीहरुलाई गाउँगाउँ जानबाट रोक्न स्थानीय व्यापारीहरुले विरोध समेत गरेका थिए । तर स्थानीय व्यापारीले भन्दा धेरै मूल्य चिनियाँ र भारतिय व्यापारीहरुले थाले पछि कृषकहरु खुशि भएका थिए ।
सरकारलाई कर तिरेर व्यवसाय गरेका व्यापारीहरुले चिनियाँ र भातिय व्यापारीहरु कर नै नतिरी गाउँमा पुगेर रुद्राक्ष खरिद गरेपछी आफूहरुलाई समस्या भएको भन्दै स्थानीय व्यापारीहरुले विरोध गरेका थिए । विरोधपछि उनीहरुलाई गाउँगाउँ पुगेर रुद्राक्ष खरिद गर्न रोक लगाइएको थियो । उनीहरुका लागि सदरमुकाम खाँदबारी बजार खरिद केन्द्रका रुपमा तोकिएको थियो । जुन नेपालकै सबै भन्दा ठूलो रुद्राक्ष व्यापारी केन्द्र हो । यहाँ भोजपुर र संखुवासभामा उत्पादन भएका रुद्राक्ष बिक्रिका लागि खाँदबारी नै ल्याउने गरिन्छ । चिनियाँ तथा भारतीय व्यापारीहरुले खरिद गरी जम्मा गरेर तुम्लिङटार विमान स्थलदेखि काठमान्डौ पु¥याउने भएकाले सबै व्यापारी र रुद्राक्ष भेला गर्ने भएकाले पनि यो ठूलो व्यापारीक केन्द्र हो ।
रोपेपछी वर्षमा एकपटक मात्र फलको आश गर्नु पर्ने र अरु खेती व्यवसायमा जस्तो स्याहार गोडमेल गरिरहनु पर्ने नभएकाले कृषकहरु रुद्राक्ष व्यवसाय प्रति लाभाम्वित भएका हुन् । यसले गर्दा सजिलो र सरल व्यवसाय भएकाले कृषकहरु यसको खेती तर्फ आकर्षण भएका हन् । तर यसरी रुद्राक्षबाट मनग्य आम्दानी गरिरहेका कृषकहरुलाई रुद्राक्ष बिक्रि गर्दाको समयसम्म जोगाउन पनि उत्तिकै मुस्किल छ । रुद्राक्षको फूल खेल्न सुरु गरेदेखि करिब १० महिना कृषकहरुलाई निकै समस्या छ । ंचैत्र, वैशाखमा हावाहरी र असिना पानीले यसको फूल झार्ने र खडेरी पर्दा फूल सुक्ने समस्या हुन्छ । दाना छिप्पीएसंगै चोरीका घटना बढ्ने भएकाले किसानहरुलाई रुद्राक्ष जोगाउन निकै मुस्किल परेको बताउँछन् । यस्तो समस्या बढेकाले प्राय किसानहरु रुद्राक्ष व्यवसायिलाई ठेक्का दिने गर्छन् । रुद्राक्ष टिप्नलाई रुख चढेर जोखिममा पर्नु, चोरीबाट जोगाउनु, प्रतिकुल मौसमको मारमा पर्नु भन्दा ठेक्का लगाएपछी समस्या नपर्ने किसानहरु बताउँछन् । रुद्राक्षको बगान लागएका किसानहरुले मोटै रकम लिने गर्छन् भने सामान्य ४÷५ रुख भएकाहरुले ५० हजार भन्दा माथि रकम लिने गरेका छन् । यसमध्ये पनि गुणस्तरीय र मुखदार रुद्राक्ष फल्ने गरेकोमा लाखौँ रुपैंया ठेकेदारहरुले तिर्ने गरेका छन् । कतिपय ठेकेदारहरुले गुणस्तरीय रुद्राक्ष फल्ने बोटलाई ३ भन्दा धेरै वर्षका लागि ठेक्का लगाउने गरेका छन् ।

चिनियाँ व्यापारीले बोटमा फलेजति रुद्राक्ष खरिद गरेपछी यसरी ठेक्का लिएका ठकेदारहरुले राम्रै आम्दानी गरेका थिए भने किसानहरुले समेत रुद्राक्षलाई मूख्य आम्दानीको स्रोत बनाए । चिनीयाँ व्यापार बढेसंँगै किसानले गुणस्तरीय रुद्राक्ष फल्ने एक रुख बराबर एक करोड भन्दा धेरै लिएका थिए । चिनीयाँ व्यापारीले गुणस्तरीय रुद्राक्षको रुपमा चिल्लो, थेप्चे, मुडे, मदाने, कण्ठे र ठूलो आकारका रुद्राक्षलाई लिएका थिए । यस किसिमका रुद्राक्ष फल्ने बोट र रुद्राक्षलाई उनीहरुले महँगो मूल्य तिर्ने गरेका थिए ।
हालसम्म सबैभन्दा धेरै मुखदार रहेको २७ मुखे रुद्राक्ष भोजपुरमा फलेको रुद्राक्ष व्यवसायि संघ भोजपुरका अध्यक्ष सुरेश चाँपागाईँले बताए । तर भोजपुरमा वार्षिक कति उत्पादन हुन्छ र कति मूल्य बराबरको कारेबार हुन्छ भन्ने तथ्याङ्क कोही कसैसंग नभएको बताए । उनले भन्सारमा समेत यसको परिमाणको बारेमा तथ्याङक नभएको जनाए । संखुवासभामा पनि यसको परिमाण र आम्दानी रकमको विषयमा जानकारी नभएको रुद्राक्ष वयवसायि संघ संखुवासभाका अध्यक्ष चक्र विशुंकेले बताए ।
तत्कालिन जिल्ला विकास समितिले रुद्राक्ष खरिद बिक्रिका लागि २०७१ सालबाट लाइसेन्स वितरण सुरु ग¥योे । विक्रि वितरणका लागि क्षेत्राधिकार अनुसार क, ख र ग वर्गमा व्यवसायिलाई लाइसेन्स वितरण ग¥यो । ग वर्गका जिल्ला भित्र, ख बर्गका देशभर र क वर्गका अन्तराष्ट्रि व्यापार गर्न पाउने गरी लाइसेन्स वितरण गरिएको थियो । ग वर्ग लाइसेन्सका लागि तीन हजार, ख वर्गका लागि सात हजार र क वर्गका लागि १२ हजार शुल्क लिएर लाइसेन्स वितरण प्रक्रिया सुरु गरिएको थियो । नयाँ लाइसेन्सका लागि यसरी दररेट कायम गरिए पनि नवीकरणका लागि क वर्गलाई ८ हजार, ख बर्गलाई ४ हजार र ग वर्गलाई २ हजार तोकिएको थियो । जिल्ला समन्वय समितिमा लाइसेन्स वितरण गरेदेखिको सम्पूर्ण तथ्याङ्क नभए पनि २०७३÷०७४ मा १ सय २४ जना व्यवसायिले लाइसेन्स नवीकरण गरेका छन् । जसमा क बर्गका तीन जना, ख वर्गका ८१ जना र ग वर्गका ३९ जनाले लाइसेन्स नवीकरण गरेका थिए । यो वर्ष ५६ हजार ४ सय राजस्व जम्मा भएको थियो । २०७४÷०७५ मा ५५ जनाले मात्र नवीकरण गरेका थिए । जसमध्ये ५ जनाले नयाँ लाइसेन्स लिएका थिए । ०७३÷०७४ मा भन्दा ०७४÷०७५ मा लाइसेन्स नवीकरण गर्नेहरुको संख्या कम देखिनु रुद्राक्षको मूल्यमा गिरावट हुनु हो ।
अब रुद्राक्षको खरिद बिक्रिको सुरसार हुन लागेको छ तर अहिले जिल्ला समन्वय समितिले नवीकरण गर्नेकी स्थानीय तहले भन्नेमा अन्यौल देखिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये पाँचखपन नगरपालिका रुद्राक्षको मूख्य उत्पादन क्षेत्र मानिन्छ । नगरपालिकाका मेयर विपिन राईका अनुसार यसै वर्षदेखि पाँचखपनले लाइसेन्स वितरण कार्य सुरु गर्नेछ । लाईसेन्स वितण नगरपालिकाको मूख्य राजस्व संकलन गर्ने स्रोत मानिएको छ ।
रुद्राक्ष बिक्रि वितरणको समय सुरु हुन लाग्दा समेत लाइसेन्स नवीकरणका लागि व्यवसायिहरुले चासो राखेका छैनन् । रुद्राक्षको मूल्य राम्रो भएका वर्षहरुमा यतिबेला व्यवसायिहरुको खाँदबारीमा ठूलै जमघट हुने गथ्र्यो । यतिबेलासम्म रुद्राक्षको मूल्य घट्ने या बढ्ने टुंगो नभएका कारण व्यवसायिहरु मौन छन् ।

माग भन्दा उत्पादन धेरै भएकाले रुद्राक्षमा ह्रास आएको व्यवसायिहरु बताउँछन् । रुद्राक्ष्को मूल्य बढेसंगै यसको खेती गर्नेहरुको संख्या पनि बृद्धी भएको हो । यसरी अध्याधिक उत्पादनले गर्दा मूल्यमा गिरावट आएको हो भने जलवायु परिवर्तनका कारण गुणस्तरीय उत्पादन नहुँदा समेत यसको मूल्य घटेको व्यवसायि चित्रबहादुर श्रेष्ठ बताउँछन् ।
नेपालमा उत्पादित रुद्राक्ष छिमेकी मुलुक चीन र भारतमा मात्र विक्रि वितरण हुने गरेको छ । जसमा ५ र ६ मुखे रुद्राक्ष चीन तर्फ विक्रि वितरण गरिन्छ भने अन्य ठूला मुखदारहरु भारत तर्फ निर्यात गरिन्छि । निश्चित बजारका कारण अन्य मुलुकमा निर्यात गर्न नसक्दा पनि मूल्य घटिरहेको व्यवसायिहरु बताउँछन् । ठूलो परिमाणमा रुद्राक्षको उत्पादन भएपनि यसको थोरै माग भएकाले मूल्यमा सुधार नभएको हो ।
रुद्राक्षको मूल्य बृद्धीहुँदा होटल व्यवसाय समेत फस्टाएको थियो । साना देखि ठूला होटलले यसबेला राम्रै आम्दानी गरेको होटल व्यवसायिहरु बताउाछन् । व्यापारीहरु खाँदबारी आउने र यहाँका होटलमा बसेर रुद्राक्ष मौल तौल गर्ने गर्दथे । होटलमा महिनौं बस्नु पर्ने भएकाले मोटो रकम होटलमा नै खर्च हुने गरेको थियो । तर अहिले रुद्राक्षको चहलपहल नहुँदा खाँदबारीमा होटल व्यवसाय धरापमा परेको छ ।
अहिले चिनियाँ व्यापारीहरु खाँदबारीमा नै रुद्राक्षका विभिन्न गहनाहरु बनाउन थालेका छन् । संखुवासभा र भोजपुरबाट संकलन गरेको रुद्राक्ष उनीहरुले खाँदबारीमा घर भाडामा लिएर कामदार सहित राखेर विभिन्न सजावटका सामान उत्पादन गरिरहेका छन् । पहिले नेपाली व्यापारीले चीनमा विक्रि वितरण गरिरहेको रुद्राक्ष अहिले चिनीयाँ व्यापारीले नै नेपालमा बिक्रि वितरण गरिरहेको छ । उनीहरुले रुद्राक्षबाट सजावटका सामाग्री, गहना, ब्याग, माला, ब्रास्लेट निर्माण गर्छन् र महँगो मूल्यमा नेपालमा नै बिक्रि गर्छन् । यसबाट अब हामी पनि केही सिक्नेकी ?

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved