फड्को मार्ने दाउमा इटहरी फुटबल

  • प्रकाशित मितिः भदौ १९, २०७५
  • 1228 पटक पढिएको
  • समय अनलाइन

सुनसरी : ‘२०६४ सालमा भोजपुर गोल्ड कप जित्यौँ, सुनको कप थियो भोजपुरबाट हेलिकोप्टरमा विराटनगर ल्यायौँ। त्यो दिन नेपाल बन्द थियो। विराटनगरबाट रिक्सामा इटहरी ल्याउँदै गर्दा बाटोमा कसैले लुट्ला कि भन्ने कम्ती डर लागेको थिएन’, एघार वर्षअघिको यो घटनाको स्मृति इटहरीका फुटबल खेलाडी कोवितजंग कार्कीसँग आझै ताजै छ। त्यो दिन सम्झिँदै उनले भने– ‘इटहरी ल्याइपुर्‍याउनासाथ हिपहिप हुर्रे भन्दै साथीहरूले नारा लगाएपछि ल्याउँदाको दुःख र डर अपार खुसीमा परिणत भयो।’ 

यसरी नै कुनै बेला फुटबलमा चम्किएको इटहरी विरासत फर्काउने दाउमा छ। पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले १३ वर्षअघि सन् २००५ मा साफ च्याम्पियनसीपअन्तर्गत भएको खेलमा गरेको गोल इटहरीको पहिलो अन्तर्राष्ट्रिय गोल थियो। उक्त खेल नेपालले ३-० गोल अन्तरले जितेको थियो। सोही वर्ष एसिया कप क्वालिफाइङ राउन्डअन्तर्गत दक्षिण कोरियासँग भएको भिडन्तमा इटहरीका रितेश थापासमेत सुरेन्द्र तामाङ सँगै मैदानमा उत्रिए। उक्त खेल इटहरीले सधैँ सम्झिरहनुपर्ने अर्को प्रतियोगिता हो।

वि. सं. २०५४ मा इटहरीका श्याम मानन्धर थ्री स्टारबाट खेल्दै फुटबलको दुनियाँमा चम्किए। भर्खरै भूटानमा सम्पन्न साफ महिला च्याम्पियनसीपमा नेपाली महिला टिमका प्रशिक्षकको जिम्मेवारी सम्हालेका तथा सुनसरी जिल्ला फुटबल संघको प्रशिक्षकसमेत रहेका मानन्धरले २० वर्षअघि थाइल्यान्डमा भएको एएफसी क्लब च्याम्पियनसीपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

२०५७ सालमा थ्री स्टारबाटै फुटबलमा उदाएका इटहरीका सुरेन्द्र तामाङ केही समयपछि थ्री स्टारको क्याप्टेनसमेत भए। समय अन्तरमा आधारभूमि इटहरीमा सुरेन्द्र, श्याम, रितेश जस्ता धेरै योग्य खेलाडीहरू जन्मिए। पछिल्लो केही वर्षअघिसम्म फुटबलमा श्याम, सुरेन्द्र र रितेशलगायतले धानेको इटहरीको फुटबल अहिले विरासत फर्काएर फड्को मार्ने अन्तिम चरणमा छ।

यस्तो छ इटहरीमा फुटबलको इतिहास

इटहरीका अग्रज फुटबल खेलाडी मधु रिमालका अनुसार नेपालमा वि. सं. २०१० अघि सार्वजनिक रूपमा युवाहरू भेला भएर फुटबल खेल्न प्रतिबन्ध जस्तै थियो। उनका अनुसार फुटबल राणा र कुलीन परिवारले मात्रै खेल्ने खेल हो भन्ने ठानिन्थ्यो। तर २०१५ सालको सेरोफेरो बढेको राजनीतिक चेतनासँगै फुटबल पनि देशका अन्य भागमा फैलिएसँगै इटहरीमा पनि खेल्न सुरु भएको हो। रिमालका अनुसार त्यो बेला फुटबल होइन, भकुन्डो भन्ने गरिन्थ्यो।

त्यस बेला प्रतियोगिता गर्ने चलन पनि थिएन। २०१४ सालतिर साथीहरू मिलेर रमाइलोका लागि इटहरीको टेंग्रा खोला पुल पूर्व–उत्तरपट्टिको बगरमा भकुन्डो खेल्ने गरिएको अग्रज पत्रकार याम प्रधान बताउँछन्। हाल इटहरी- ८ को गैसारका युवाहरूको सक्रियतामा २०१४ सालमा गठित सतन युवा क्लब इटहरीमा फुटबलकै लागि स्थापित भएको पहिलो क्लब मानिन्छ। त्यो बेला इटहरीको गैसार खेलकुद र सांस्कृतिक कार्यक्रमको केन्द्र थियो।

इटहरी चोक क्षेत्रमा भने २०१८ सालदेखि प्रतियोगिता आयोजना हुन थालेको हो। खोलाको बगरबाट खेल जीवन सुरु गरेका मघु रिमाल फुटबल खेल्दा लाउने जुत्ता किन्न भारतको सिलगुडी पुगेका थिए। उनका अनुसार २०१८ सालतिर बुट–जुत्ता इटहरी र विराटनगरमा किन्न पाइँदैनथ्यो। ‘जुत्ता लगाएर फुटबल खेल्दा दशैँ आएजस्तो हुन्थ्यो’, रिमालले भने।

इटहरीको फुटबलको इतिहास हेर्ने हो भने राष्ट्रिय जागृति क्लब र ब्याइज फुटबल क्लब अग्रस्थानमा आउँछन्। खासगरी सांस्कृतिक कार्यक्रम गर्ने उद्देश्यले २०२३ सालमा स्थापित राष्ट्रिय जागृति क्लब फुटबल प्रतियोगिताको क्षेत्रमा पनि सक्रियतापूर्वक अगाडि बढेको क्लबका अध्यक्ष संजिव ढुंगाना बताउँछन्। रामकुमार सुब्बा, रामकुमार सुवेदी, राम याख्खा, अर्जुन कार्कीलगायतको समूह मिलेर क्लब स्थापना भएको थियो। उक्त क्लबले सुरुमा प्रत्येक वर्ष कागतिहारको दिन सांस्कृतिक कार्यक्रम गर्ने क्रममा केही वर्षपछि फुटबलले निरन्तरता पाएको ढुंगानाको भनाइ छ।

क्लबले सुरु गरेको इटहरी गोल्डकप अहिले मोफसलकै सर्वाधिक पुरस्कार राशिको गोल्डकपमा स्थापित भएको छ। यसको ११औँ संस्करण मदन भण्डारी इटहरी गोल्डकपको नामबाट गत माघ महिनामा सम्पन्न भयो। मुख्यतयाः इटहरी गोल्डकप गरेर खेलाडी उत्पादन गरेको क्लबले नेपाल र भारतका विभिन्न ठाउँमा भएका प्रतियोगितामा समेत सहभागिता जनाएको ढुंगानाको भनाइ छ। 

यस्तै, २०५६ सालमा स्थापित ब्वाइज फुटबल क्लब इटहरीले पनि फुटबलको विकासमा योगदान दिएको पाइन्छ। क्लबका अध्यक्ष कोवितजंग कार्कीका अनुसार तत्कालीन अध्यक्ष गीतानिधि रायमाझी, सुभाष कार्की, केशव कार्की, रेखबहादुर गुरुङलगायत मिलेर क्लब स्थापना भएको हो। क्लबले नेपाल र भारतका विभिन्न ठाउँमा ठूला प्रतियोगिताहरूमा सहभागिता जनाएको अध्यक्ष कार्कीले बताए। 

इटहरीमा विभिन्न खेलकुदका लागि एकपछि अर्को लगानी भित्रिइरहेको बेला फुटबलमा समेत लगानी बढेको छ। इटहरीलाई स्पोर्ट्स सिटीको रूपमा विकासका लागि पूर्वाधारहरूमा ठूलो लगानी भइरहेको अवस्थामा फुटबलका लागि पनि लगानी बढेको हो।

एक समय फुटबल र इटहरी पर्याय जस्तै थियो। इटहरीको सानो जनता चौरमा निखारिएका खेलाडीहरूको राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा विशेष उपस्थिति र अलग्गै पहिचान हुने गथ्र्यो। रामकुमार सुब्बा, रामकुमार सुवेदी, राम याख्खा, मधु रिमाल, अर्जुन कार्की, अशोक थापा, पूर्ण तामाङ, देवेन्द्र बाँस्तोला, दानबहादुर फुयाल, योगेन्द्र सुब्बा, सुरेन्द्र तामाङ, रितेश थापा, डेनी राई, निर्जल श्रेष्ठ, कमल बस्नेत, कब्बु राई, सन्दीप थापामगर, दिवस राई, दिलकुमार तामाङ, शिव चौधरी, श्याम मानन्धर आदि एक से एक खेलाडी थिए, जसले इटहरीको फुटबल विरासत धानेका थिए। पूर्वाञ्चलका ठूला प्रतियोगितामा इटहरीका खेलाडीको दबदबा हुने गरेको पूर्वमन्त्री एवं फुटबल खेलाडी रामकुमार सुब्बा बताउँछन्।

फुटबलमा इटहरीको सहभागिता

विष्णु बासे मेमोरियल च्यालेन्ज ट्रफी पश्चिम बंगाल, आलिपुर च्याम्पियन ट्रफी, अन्तर्राष्ट्रिय आमन्त्रण एलएम प्रधान एन्ड गोपाल मैत्री मेमोरियल च्यालेन्ज ट्रफी पश्चिम बंगालमा सहभागिता देखाएर इटहरीका खेलाडीले भारतीय भूमिमा खेल देखाए। उनीहरूको यो सहभागिताले गर्दा त्यस ठाउँका टिमलाई इटहरीमा हुने गरेका केही ठूला प्रतियोगिताहरूमा भित्र्याउन सहयोग पुगेको अग्रज फुटबल खेलाडी दिलीप राइले बताए। आदर्श गोल्डकप बुधबारे झापा, हृदयेन्द्र गोल्डकप, सगरमाथा गोल्डकप, मधुमल्ला गोल्डकप, निराजन स्मृति नकआउट फुटबल प्रतियोगिता आदि उपाधिहरू पनि इटहरीका खेलाडीले चुमेको राष्ट्रिय जागृति क्लबका अध्यक्ष संजिव ढुंगाना बताउँछन्। 

यस्तो छ अहिलेको अवस्था

इटहरीमा विभिन्न खेलकुदका लागि एकपछि अर्को लगानी भित्रिइरहेको बेला फुटबलमा समेत लगानी बढेको छ। इटहरीलाई स्पोर्ट्स सिटीको रूपमा विकासका लागि पूर्वाधारहरूमा ठूलो लगानी भइरहेको अवस्थामा फुटबलका लागि पनि लगानी बढेको हो। यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले नै इटहरीको फुटबललाई प्राथमिकतामा राखेपछि इटहरीले फुटबलको विरासत फर्काउनेमा सरोकारवालाहरू ढुक्क छन्। इटहरीलाई फुटबलको हवको रूपमा विकास गर्न राखेपको पनि निरन्तर सहयोग जारी छ। 

इटहरीलाई स्पोर्ट्स सिटीको रूपमा विकास गर्नका लागि तीन वर्षभित्र एक करोड रुपैयाँ पुरस्कार राशिको इटहरी गोल्डकप आयोजना गरिने विष्टले बताए। विष्ट इटहरीबासी भएकै नाताले पनि पूर्वको उदीयमान शहर इटहरीको पहिचानलाई स्थापित गराउन दक्षिण एसियास्तरकै गोल्डकप गरिने आफ्नो योजना रहेको बताउँछन्। विष्टको यो भाषण मात्र नभएर व्यवहारमा समेत लागू भइरहेको छ। किनकि इटहरीमा फुटबलको ठूलो प्रतियोगितासमेत सम्पन्न भइसकेको छ।

फुटबल मैदानलाई चाहिने भौतिक संरचना निर्माणसमेत अन्तिम चरणमा पुगेको छ। यसका लागि माथिल्लो निकायबाटै कसरत सुरु गरिएको समेत विष्टले प्रष्ट पारे। विष्टका अनुसार फुटबल हुने इटहरी रंगशालालाई अन्तर्राष्ट्रियस्तरको भिआइपी रंगशाला बनाउन थप १८ करोड रुपैयाँको भिआइपी रंगशाला निर्माणको सम्झौता भएको छ।

फुटबल प्रतियोगिता हेर्न दर्शकका लागि अहिले मैदानको उत्तर–पूर्वदेखि दक्षिण-पश्चिमसम्म १२० मिटर पूर्ण रूपमा तीन स्टेपको प्यारापिट निर्माण सम्पन्न भइसकेको छ । मैदानमा दुबो उमारेर गत माघ महिनामा मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी इटहरी गोल्डकप प्रतियोगिता पनि सम्पन्न भयो। फुटबल प्रतियोगिताका लागि तयारी गरिएको यही मैदानमा झण्डै २५ लाख रुपैयाँ पुरस्कार राशिको दोस्रो संस्करणको मदन भण्डारी गोल्डकप आयोजना यसै वर्ष गर्ने तयारी छ। मैदानको पश्चिम भागमा निर्माण हुने ११ करोड रुपैयाँको भिआइपी प्यारापिटको समेत टेण्डर प्रक्रिया सुरु भएर काम अघि बढिसकेको सदस्य सचिव विष्टको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved