प्रदेशको खेलकुद क्रान्तिका लागि यस्ता छन् पूर्व अन्तर्राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङका ७ सुझाव

  • प्रकाशित मितिः भदौ २६, २०७५
  • 1214 पटक पढिएको
  • समय अनलाइन

इटहरीः हालसालै नेपालले इन्डोनेशियामा भएको एशियाली खेलकुदमा प्याराग्लाइडिङबाहेक अन्यमा पदक ल्याउन सकेन । प्याराग्लाइडिङमा पनि सरकारी सहयोग भने नभएको बताइन्छ । पोखराको व्यावसायिक साहसिक पर्यटनको खेल प्याराग्लाइडिङ विकासको कारणले पदक ल्याएको खेल क्षेत्रका विज्ञले बताउँदै आएका छन् । तर, करोडौँ बजेट खन्याएर पनि किन नेपाली खेलकुद क्षेत्र पछि प¥यो ? यसमा इटहरीका पूर्व अन्तर्राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङका केही तर्क छन् । साथमा सुधार गर्न सुझाव पनि । 
इटहरीका रैथाने सुरेन्द्र तामाङले सन् २००३ बाट २००८ सम्म लगातार राष्ट्रिय जर्सीमा नेपाली अन्तर्राष्ट्रिय खेलाडीको अनुभव बोकेका छन् । तामाङ नेपाली फुटबल लिगमा ५० बढी गोल गर्ने केही सीमित खेलाडीमध्येका एक थ्रीस्टारका पूर्व स्टार खेलाडी हुन । थ्रिस्टारबाट अनगिन्ती खेलहरू र राष्ट्रिय टिमबाट ११ खेल खेलेका तामाङले दक्षिण एसियाका भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तासँग खेलेका छन् । पाकिस्तानसँग राष्ट्रिय टिमको आफ्नो ७ नम्बरे जर्सीबाट गोल पनि गरेका तामाङले ओमान र कोरियासँग पनि राष्ट्रिय झन्डाधारी जर्सीमा फुटबल खेलेका छन् ।12316573_415748081955919_2014284379016249680_n

उनै तामाङ अहिलेको नेपाली खेलकुद स्तरसँग निराश छन् । भन्छन्, ‘फुटबलमा अहिले करोडौँको बजेट छ । तर, रिजल्ट एकदम कमजोर छ ।’ कसरी सुधार गर्ने त अबको फुटबल स्तर ? तामाङ अब फुटबलको स्तर सुधार्न स्थानीय सरकार र प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउँछन् । भन्छन्, ‘स्थानीय सरकारले राम्रो खेलाडी उत्पादन गर्ने र प्रदेश सरकारले उनीहरूको व्यवसायीकरण गरेर राष्ट्रिय एक्सपोजर दिए खेलकुद क्षेत्रमा फड्को मार्न सजिलो छ ।’ 
तामाङकै शब्दमा खेलकुद क्रान्ति गर्न अहिले धेरै सजिलो छ । विभिन्न खेल कौशलहरू अनलाइनमै प्राप्त गर्न सकिन्छ । घरमै बसेर पनि धेरै सहज तरिकाले अन्तर्राष्ट्रिय सूचनाहरू पाउन सकिन्छ । यसै परिप्रेक्ष्यमा प्रदेशको फुटबलसहित समग्र खेलकुदको स्तर सुधार्न सुरेन्द्र तामाङले दिएका ७ सुझाव उनकै शब्दमा यस्ता छन्ः

१. खेलकुद क्षेत्रमा खेलक्षेत्रकै र राजनीति नगर्ने व्यक्तिको नेतृत्व स्थापना गर्नुपर्छ
नेपाली खेलकुद क्षेत्रको दुर्दशा हुनुमा कमजोर नेतृत्वको कारण मुख्य रहेको छ । यो कमजोर नेतृत्व हुनुमा दलको झन्डा बोकेको आधारमा मान्छेहरू विभिन्न खेलकुद क्षेत्रमा आएकाले हो । राजनीति गर्नलाई ‘स्पेस’ पाउने क्षेत्रको रूपमा खेलकुदको नेतृत्व खोज्ने प्रथा बढेको छ । त्यसैले यो रोक्नुपर्छ । समस्या भनेको गैरखेलाडीलाई राजनीतिक उद्देश्यले खेल क्षेत्रमा दिएको नेतृत्व हो । उनीहरू १ महिना मात्रै खेलकुदमा दिन्छन् । बाँकी महिना दलमा दिन्छन् । यसले खेलकुदमा प्रत्यक्ष असर पुग्छ । अब राजनीतिक रूपमा सक्रिय होइन राजनीतिक रूपमा सुसूचित नेतृत्वको मात्रै आवश्यकता छ । यसले नेपाली खेलकुदको विकासमा ठूलो योगदान दिन्छ ।

२. पुरस्कारमा होइन ‘प्लेयर’मा लगानी बढाउनुपर्छ
अहिले नेपाली खेलकुदमा फुटबलदेखि तेक्वान्दोसम्मका खेलाडीमा हुने लगानी आशालाग्दो छैन । बरु, विभिन्न क्षेत्रका खेलकुदहरूमा दिने पुरस्कार राशिको मूल्य भने बढाइएको छ । यो भनेको जरा होइन पातमा मलजल गरेजस्तै हो । प्रधानमन्त्री क्लबदेखि वडाध्यक्ष कपसम्मका खेलकुदको बजेट सक्न विभिन्न ठूला राशिका प्रतियोगिता गर्नुभन्दा सोही रकमले विभिन्न खेल क्षेत्रका राम्रा खेलाडीमा लगानी गर्नुपर्छ । खेलाडीमा लगानी भएमा उनीहरूले २० हजार कमाउन आफ्नो दक्षता छोडेर अरब जानु पर्दैन । यसको लागि काम हुनुपर्छ ।

देशभरका ७ सय ५३ स्थानीय तह र ७ प्रदेशले १ हजार बढी नेतालाई तलब दिने आर्थिक क्षमता पुग्छ भने राम्रा खेलाडीहरूको जीवन धान्नेगरी छात्रवृत्ति र आर्थिक सहयोग दिन किन पुग्दैन ? इटहरीले अब ५ वर्षसम्म १ सय जनप्रतिनिधिलाई पाल्दै छ । उनीहरूको एक वर्षको भत्ता, तेल र सवारी खर्च मात्रै ३ करोड बढी हुने देखियो । 
जनप्रतिनिधिहरूको एक वर्षको तलब, तेल, भत्ता र सवारीको पैसा इटहरीका फुटबल, क्रिकेट, कराते, टेबलटेनिसदेखी अन्य विधाका गरेर ५० खेलाडीलाई जीवन धान्ने आधार बनाए खेलाडीले खेल मात्रै सोच्न पाउँथे । यस्तो गर्नलाई सबैलाई दिनुपर्छ भन्ने छैन । धेरै राम्रो आर्थिक हैसियत भएकालाई कम र कमजोर आर्थिक अवस्था भएकालाई धेरै सहयोग दिए गज्जब हुन्छ । यो असम्भव छैन । इच्छाशक्ति हुनुपर्छ । यो लगानी गर्न सजिलो पनि छ ।

३. स्थानीय र प्रदेशमा भएका रिटायर्ड खेलकुद जनशक्तिको सदुपयोग गर्नुपर्छ
अहिले हाम्रोमा राम्रोसँग राष्ट्रिय प्रतियोगितादेखि साफ हुँदै एसियाडसम्म खेलेका नेपाली खेलाडीहरूको उपस्थिति छ । कतिपयले अहिले खेल जीवनबाट अवकाश लिएका छन् । मैले फुटबलबाट लिएँ । कोहीले कराते, कोहीले क्रिक्रेट त कोहीले तेक्वान्दो वा भलिबलमा गरेर धेरै रिटायर्ड भएका छन् । त्यो जनशक्तिलाई अब स्थानीय सरकार र प्रदेश सरकारले खोजेर सदुपयोग गर्नुपर्छ । उनीहरूको दक्षता नयाँ पुस्ताका खेलाडी उत्पादनमा लगाउनुपर्छ । यसमा राज्यकै नीति बनाएर काम गर्दा हुन्छ । यसमा सबै रिटायर्ड खेलाडीको सहयोग हन्छ । उनीहरूले इज्जत पाएको अवस्थामा कम शुल्क वा निःशुल्क पनि आफ्नो योगदान दिन्छन् । नयाँ अधिकार सम्पन्न प्रदेश र स्थानीय सरकारले यस्तो काम गर्नुपर्छ ।

४. जनसहभागिताबाट आधुनिक प्रादेशिक रङ्गशाला र पिच निर्माण
सरकारले भूकम्पबाट पीडितहरूलाई बनाएका घरभन्दा चाँडै धुर्मुस सुन्तलीले बनाइदिए । उनीहरूले ३ महिनामै बस्ती बनाएर देखाए । धुर्मुस सुन्तलीले मात्रै होइन अन्य सहयोगी हातहरूले पनि कुनै मोडेल प्रोजेक्टमा लगानी गर्न सक्छन् । आकर्षक फुटबल रङ्गशाला वा क्रिक्रेट पिच वा खेलकुद एकेडेमी बनाउन प्रदेश र स्थानीय सरकारले अपिल गर्न सक्छन् । यो काममा विभिन्न दाताहरूले जमिन दिएर वा चन्दा दिएर सहयोग गर्छन् । चमेनागृह, व्यायामशाला, सेमिनार हल आदि समेटिएको बहुउद्देश्यीय खेलकुद पूर्वाधार बनाउन सकिन्छ । यसले अन्य आम्दानी गरेर पूर्वाधारहरू सञ्चालन हुन सहज हुन्छ । 
५. प्रदेशस्तरीय व्यस्त खेलकुद समूह र व्यवस्थित एकेडेमी बन्नुपर्छ
हरेक खेलमा उमेर समूहदेखि राष्ट्रिय टोलीका विभिन्न खेलाडीहरू आवश्यक पर्छ । फुटबल, क्रिकेटदेखि तेक्वान्दोसम्म यो लागू हुन्छ । यसका लागि प्रदेशमा १६ वर्षदेखि २३ वर्षसम्मका फुटबलदेखि तेक्वान्दोसम्मका खेलाडीहरू तयार हुनुपर्छ । उनीहरूलाई खेलकुदमै मात्रै सोच्ने स्तरको आर्थिक छात्रवृत्ति, निःशुल्क शिक्षा र बिमाजस्ता सुविधाहरू दिनुपर्छ । यसले प्रदेशबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक ल्याउने सम्भावना बलियो पार्छ । अहिले धेरैजसो काम व्यक्तिगत स्तरको छ र पदक प्रोफेसनालिजमको छ ।

६. लोकप्रिय खेल र पदकको सम्भावना बढाउने खेलकुदमा विशेष लगानी गर्नुपर्छ
हाम्रो खेलकुद नीति राम्रो छैन । कसैले नसुनेको र नखेलिने सेपाकताक्रो खेलमा पनि नेपाली खेलाडी विदेश पठाइन्छ । त्यही भएर पदक ल्याउने सम्भावना नभएका खेलमा पनि हामी प्रतियोगीहरू पठाउँछौँ । खेलको व्यवस्थापक, कोच आदि भएर विदेश सयर गर्न पाउने लोभमा यस्ता कुकर्महरू हुँदै आएका छन् ।

सागदेखि एशियाली खेलकुदसम्म यो विकृति छ । देशले जित्न नसक्ने पदक पाउने र लोकप्रिय खेलमा लगानी गरेको भए त्यो हुन्थेन । पदक ल्याउने बलियो सम्भावना बोकेका कराते, तेक्वान्दो, एथलेटिक्स आदिमा ध्यान दिनुपर्छ । फुटबल र क्रिकेटजस्ता लोकप्रिय खेलमा पनि लगानी गर्नुपर्छ । पदकको सम्भावना र लोकप्रिय खेल दुवैमा लगानी गर्दा दुइटा फाइदा छ । एक खेलकुदको आकर्षण कायम हुन्छ । अर्को कुरा पदक पनि देशले पाउँछ । 
प्रदेशमा कुनकुन खेलको स्तर के छ ? नयाँ पुस्ताले कस्तो सम्भावना बोकेका छन् भन्ने कुराको राम्रो अध्ययन गरेर प्रदेश खेलकुद नीति बन्नुपर्छ । यसमा पूर्व खेलाडी, वर्तमान खेलाडी र खेल क्षेत्रका जानकारले सहयोग गर्न सक्छन् ।

७. अन्तर्राष्ट्रिय पदक ल्याएका खेलाडीहरूलाई पेन्सनको व्यवस्था हुनुपर्छ
नेपाल यस्तो देश हो जहाँ पदक जितेका खेलाडीले तपाईंको खेल सपना के छ भन्दा मैले खेलमै बाँच्न पाऊँ । खेलकुदका सुविधाहरू हुन् भन्छ । यसो भन्नुमा हाम्रा खेलाडीको मनोबल कस्तो छ भन्ने देखाउँछ । यसको लागि नयाँ खेलाडी उत्पादनमा आर्थिक, प्राविधिक छात्रवृत्ति जस्तै रिटायर्ड तर पदक ल्याएकाहरूलाई पेन्सन दिनुपर्छ । आज विभिन्न पदमा बसेका नेता मन्त्रीहरूले पनि पेन्सन, सुरक्षा गार्ड आदि पाउँछन् । तर, देशको लागि नाम दिने खेलाडीहरूले केही पाउँदैनन् । 
निजामती कर्मचारी, सेना, प्रहरी र सशस्त्रलाई राष्ट्रसेवक भन्दै पेन्सन दिएजस्तै देशको नाममा पदक ल्याएका सबै खेलाडीहरूलाई पेन्सन दिनुपर्छ । प्रदेश १ की सांसद कुसुम श्रेष्ठले पनि यो कुरा प्रदेश १ को प्रदेश सभामा उठाउनुभएको थियो । तर, लागू भएको छैन । पदक ल्याएका खेलाडीलाई पेन्सन दिँदा राज्यलाई घाटा पनि छैन । किनभने बर्सेनी सयौँ हजारौँ पदक आउने पनि होइन । केही गौरवका अन्तर्राष्ट्रिय पदक पाएका खेलाडीलाई किन पेन्सन नदिने ?

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved