काठमाडौं । नेपाली फुटबल टोली यतिबेला नयाँ इतिहास रच्ने ध्याउन्नमा छ । साफ च्याम्पियनसिप फुटबलमा ५ औं पटक सेमिफाइनल पुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यका साथ तयारी गरिरहेको छ ।
नेपाली टोलीले सेमिफाइनलसम्मको यात्रा तय गर्न प्रायजसो खेलाडी फेरबदलमा परे । तर, गोलरक्षक किरण चेक्जोङ र डिफेन्डरमा अनन्त तामाङ, सुमन अर्याल र आदित्य चौधरी पहिलो रोजाइमा पर्दै आएका छन् । त्यस्तै मिडफिल्डरमा रोहित चन्द, सुजल श्रेष्ठ, अन्जन विष्टलगायत खेलाडी पहिलो रोजाइमा परेका छन् भने अन्य खेलाडी सस्ब्टिच्युट हुने गरेका छन् ।
नेपालको फिनिसिङ लाइनमा भने स्ट्राइकर विमल घर्तीमगर पहिलो रोजाइमा रहँदै आएका छन् । उनले यो सिजनको साफ च्याम्पियनसिपमा २ गोल गरिसकेका छन् । विमलसँगै नवयुग श्रेष्ठ र भरत खवास रोजाइमा पर्ने गरेका छन् ।
नेपाली टोलीकोे बलियो खम्बा मानिएका डिफेन्डर रोहित चन्दले माल्दिभ्सको टिममा युवाहरु रहेको उल्लेख गर्दै नेपाली टोलीमा पनि युवाहरु रहेकाले माल्दिभ्ससँगको खेलमा राम्रो प्रदर्शन गर्ने बताए । नेपालका लागि विमल घर्तीमगर, नवयुग श्रेष्ठ, सुनिल बल, आदित्य चौधरी, रोहित चन्दलगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
टिममा खेलाडीको खडेरी छैन
तीनवटै खेलमा खेलाडीको निकै धेरै फेरबदल भएको छ । नेपाली टोलीका नियमित कप्तान विराज महर्जनसमेत भुटान र बंगलादेशविरुद्धको खेलमा पहिलो रोजाइमा पर्न सकेनन् । भुटानविरुद्धको खेलमा खेलको अन्तिम समयमा महर्जनलाई मैदान प्रवेश गराइए पनि बंगलादेशविरुद्धको खेलमा भने पूरै खेल बेञ्चमा रहे ।
सेमिफाइनलको तयारीमा रहेको नेपाली टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले अब नेपाली टोलीमा सब्स्टीच्युट खेलाडीको अभाव नरहेको बताएका छन् । उनले भने, “यसअघि हाम्रो टिममा सब्स्टीच्युट गर्न खेलाडीको अभाव हुन्थ्यो । तर, अहिले मेरा खेलाडीले त्यसलाई तोडेका छन् । उनीहरुले प्रुभ गरिसकेकाले अब टिममा खेलाडीको अभाव छैन ।” त्यस्तै, नेपाली फुटबल टिमका कप्तान विराज महर्जनले सेमिफाइनलमा माल्दिभ्ससँगको खेलमा जित निकाल्नेमा टिम कन्फिडेन्ट रहेको तर ओभर कन्फिडेन्ट भने नरहेको बताए ।
सेमिफाइनल पुग्नेक्रममा नेपालले समूह चरणमा पाकिस्तान, भुटान र बंगलादेशको सामना गरेको थियो । समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानसँग अप्रत्याशित हार व्यहोरेको थियो । पहिलो खेलमा पराजित भएको नेपालले पछि भुटान र आयोजक बंगलादेशसँग सहज जित निकालेको थियो ।
पाकिस्तानसँगको खेलमा कप्तान विराज महर्जनले फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । एक गोल फर्काए पनि अन्तिम समयमा सम्हालिन नसक्दा पराजय व्यहोर्नुपरेको थियो ।
पाकिस्तानसँगको पहिलो खेलमा २—१ गोल अन्तरले पराजित भएको नेपालले भुटानविरुद्ध ४—० गाल अन्तरको फराकिलो जित निकाल्दै खेलमा कमब्याक गरेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशलाई २—० गोल अन्तरले पराजित गरेको थियो ।
इतिहासमा माल्दिभ्स बलियो, नेपाल कमजोर
नेपाल र माल्दिभ्स चिरप्रतिद्वन्द्वी हुन् । यी दुई टोलीले एक—अर्काविरुद्ध यसअघि अहिलेसम्म १५ पटक खेलिसकेका छन् । नेपाल र माल्दिभ्सको पहिलो पटक भेट सन् १९८४ को साउथ एसियन फेडेरेसन गेम्समा भएको थियो । त्यसमा नेपालले माल्दिभ्सलाई ४—० गोल अन्तरले पराजित गरेको थियो ।
त्यसयताका १५ खेलमध्ये नेपालले ४ खेल जितेको छ भने माल्दिभ्सले ७ खेल जितेको छ । त्यस्तै, यी दुई टोलीले ४ खेल बराबरी खेलेका छन् । नेपाल र माल्दिभ्सको पछिल्लो भेट सन् २०१२ को मैत्रीपूर्ण खेलमा भएको थियो, जुन खेलमा नेपाल २—१ गोल अन्तरले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved