धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक गर्भवती महिलाको ज्यान गएको छ । महिलासँगै उनको पेटमा रहेको बच्चाको समेत मृत्यु भएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका २ की २८ बर्षीय गर्भवती मनिषा लिम्बूको मृत्यु भएको हो । कार्तिक २३ गते डेलिभरीको समय दिइएकी लिम्बुलाई व्यथाले नच्यापेपछि ३० गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
तर आइतबार साँझ अचानक मनिषाको लेवर रुममा नपुगि वेडमा नै मृत्यु भयो । समयमा नै डाक्टर र नर्सले ख्याल नगरिदिदा मनिषाको मृत्यु भएका आफन्तहरुको आरोप छ ।
आइतबार बिहान व्यथा लाग्ने औषधी दिइएको थियो । पाठेघरको ६ घर खुलेपछि मनिषाले असाध्यै पीडा भएको बताएपछि नर्सलाई लेबर रुममा लैजान आग्रह गर्दा नर्सले झर्कदै कराएको पीडितका आफन्तहरुले बताएका छन् ।
गर्मी भयो भन्दै मनिषा बेडबाट उठेर चिसो भुईमा बसेकी थिइन् । त्यहीँ आँखा चिम्लिइन् ।
अनि मात्र डाक्टरले चासो दियो । तर ढिलो भइसकेको थियो ।
समयमा नै लेवर रुम नलगेको, राम्रो उपचार नगरेको आरोप मृतकका आफन्तहरुले लगाएका छन् ।
लापरवाहीले गर्भमा भएको बच्चासहित आमाको मृत्यु भएको भन्दै पीडित परिवारले विरोध जनाएका छन् ।