‘जाडोमा हुन सक्छ हृदयाघात’

  • प्रकाशित मितिः मंसिर 12, 2075
  • 259 पटक पढिएको
  • समय अनलाइन

कुनै न कुनै कारणले हामी सबै  मुटुरोगको जोखिममा छौं। पहिल्यै मुटुरोगको जोखिममा रहेकाहरूका लागि त जाडो मौसम झनै जोखिमपूर्ण मानिन्छ। जाडो मौसममा मुटुरोगबाट कसरी बच्ने ? यस विषयमा ग्रान्डी इन्टरनेसनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलसँग कुराकानी 

यो सेवामा लागेको कति वर्ष भयो ?
विशेषज्ञका रूपमा काम गर्न थालेको मात्र सात वर्ष भइसक्यो।

नेपालमा मुटुरोग बढिरहेको छ भन्ने सुनिन्छ नि ? यथार्थ के हो ?
अन्तराष्ट्रिय रूपमै मुटुरोग बढेको छ। यस आधारमा नेपालमा पनि मुटुरोगीको संख्या बढेको छ। तर अहिले यसको एकिन तथ्यांक छैन। एकातिर मुटुरोग बढेको पनि हो। तर उपचार गर्ने चलन बढ्दै गएका कारण पनि मुटुरोगीको संख्या बढी देखिएको हो।

मुटुरोग के कारणले बढिरहेको छ त ?
हामीले जतिसुकै रोक्न खोजे पनि मुुटुरोग बढाउने कारणहरू बढिरहेका छन्। जुन मुटुरोग नियन्त्रणका लागि चुनौती बनेका छन्। मानसिक तनाव, वायु प्रदूषण, अस्वस्थकर खानापान लगायतका कारण मुटुरोग बढिरहेको छ।

वंशाणुगत कारण, ब्लड प्रेसर, सुगरजस्ता समस्याले पनि मुटुरोगको जोखिम बढाएका छन्। मलाई के लाग्छ भने एउटा व्यक्तिले मुटुरोग नलागोस् भनेर कोसिस गरेकै हुन्छ। तर हामी जतिसुकै सजग भए पनि यो रोग लाग्न नदिनबाट ढुक्क हुन सक्ने अवस्था छैन।

चुरोट, रक्सी पिउन रोक्न सक्छ, तौल पनि नियन्त्रणमा राख्न सक्छ। मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल पनि औषधि खाएर नियन्त्रणमा राख्न सक्छ। यी कुरा मानिसका हातमा छन्। तर मुटुरोग बढाउने अन्य कारक तत्वहरू वायु प्रदूषण, रासायनिक खानेकुरा, सामाजिक तनाव रोक्न सक्ने अवस्था छैन। धेरै टाढा नजाऔं, राजधानीको ट्राफिक जाम र प्रदूषण मात्र हेरे पनि पुग्छ। यस्ता कारणले कसरी हाम्रो जीवनमा मुटुरोग निम्त्याइरहेका छन्।

एकातिर व्यक्ति आफैं तनावमा बाँचिरहेको छ, अर्कातिर सामाजिक संरचनाले तनाव दिइरहेको छ। जस्तो कि कुनै ठाउँमा पुग्नुप¥यो भने सवारी जामका कारणले तनाव बढ्छ। चाहेको ठाउँमा समयमा नपुग्दा कति तनाव भयो र मुटुको धड्कन कति बढ्यो भन्ने हिसाब राख्नुहोस्। यही क्रम दिनहुँ दोहरिंदा मुटुरोग कति बढेको होला ? सहजै अनुमान गर्न सक्छौं।

हाम्रो सामाजिक संरचना दिन प्रतिदिन यति असहज हुँदै गएको छ कि सजिलै हुनुपर्ने काममा पनि अनेक बाधा व्यवधान झेल्नुपर्छ। तर यसको कुनै नापतौल छैन। मुटुमा कति असर परिरहको छ भन्न सकिंदैन। मैले समाजमा भएका सबैभन्दा सचेत व्यक्तिको कुरा गर्दैछु। उसले जति कोसिस गरे पनि यस्ता कुराहरूलाई रोक्न सक्दैन। अर्को पक्ष भनेको बाहिर जानु पर्ने बाध्यता छ भने बाहिर पाइने खानाहरू सबै मुटुरोग निम्त्याउने किसिमका छन्।

मुटुरोगका कारण कति प्रकारका छन् ?
दुई प्रकारका छन्। एउटा, परिवर्तन गर्न सकिने। अर्काे, परिवर्तन गर्न नसकिेन। जस्तो, जन्मजात, वंशाणुगत, उमेर, लिंगका आधारमा हुने मुटुरोगलाई रोक्न सकिंदैन। जन्मिंदै आएका मुटुरोग, जसलाई रोक्न सकिंदैन। आफैं नियन्त्रण गर्न नसकिने मुटुरोगको एउटा कारण हो, महिलाको तुलनामा पुरुषलाई मुटु रोग बढी हुन्छ। बुवा–आमामध्ये कसैलाई मुटुरोग छ भने त्यो उसका सन्तानलाई पनि हुन सक्छ। मानिस वृद्ध हुँदै गएपछि पनि मुटु रोग लाग्छ। जसलाई हामी परिवर्तन गर्न सक्दैनौं।

त्यसमाथि पछिल्लो समय अन्य कारण थपिएका छन्, तनाव, प्रदूषण र अस्वस्थ खानपिन। हेर्नोस्, बजारामा कुनै पनि खाद्य पदार्थ शुद्ध पाइँदैन। अन्न, फलफूल, खाना, तरकारीदेखि सबै थोकमा रसायनको प्रयोग छ। जुन भयावह छ।

तनाव, खानपान र वातावरणले कसरी मुटुरोग लाग्छ ?
तनावका कारण मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल र मुटुको चाल बढ्छ।  तनावकै कारण ढुकढुकी बढेर आउने बिरामी धेरै छन्। प्रत्येक दिन पाँचदेखि दस जनासम्म यस्ता बिरामी मैले नै उपचार गर्छु। यस्ता समस्या महिलामा बढी देखिन्छ। तनावले मुटुमा विभिन्न रसायन उत्पन्न गराई रक्तचाप, कोलेस्ट्रोल र ढकुढुकी बढाउने काम गर्छ।

प्रदूषणले कसरी मुटुरोग बढाउँछ नि ?
पहिलो कुरा, प्रदूषणले कुन तहमा असर गरिरहेको छ भन्ने बारेमा नेपालमा कुनै मापदण्ड तयार भएको छैन। प्रदूषणले तत्कालीन र दीर्घकालीन रूपमा असर गर्छ। प्रदूषणले बाहिरीभन्दा भित्री असर बढी गर्छ। हामी बाहिर धेरै हिंड्छौं। आज धेरै प्रदूषणको सम्पर्कमा रहनुभयो भने त्यसले आजै असर गर्छ। स–साना धुलोका कणहरू फोक्सो हुँदै रगतमा मिसिएर मुटुमा पुग्छन्। त्यसरी मुटुमा पुगेपछि मुुटुका रक्तनलीमा मिसिन्छन्। यसले रक्तनलीमा रगत जम्ने समस्या बढाउँछ। यस्तो अवस्थामा पहिल्यै जोखिममा भएका व्यक्तिहरूलाई मुटुका रक्तनली साँघुरो भएर हृदयाघात पनि हुन सक्छ। यस्तै प्रदूषणमा लामो समय बिताइयो भने दीर्घकालीन असर गर्छ। मुटुमा अवरोध गर्ने, कोलेस्ट्रोल बढ्नेजस्ता समस्या आउँछन्।

खानपानले मुटुलाई कसरी असर गरिरहेको छ त ?
हामी घरमा या बाहिर खाना खान्छौं। घरमा खाना बानाउँदा, तेल, चिनी, नुन के कति प्रयोग गर्ने भन्ने कुरा हाम्रो हातमा हुन्छ। जानकारी भएकाले घरको खानालाई स्वस्थ बनाउने कोसिस गर्छन्। तर कोही–कोही यस्ता व्यक्ति पनि छन्, जो स्वादका नाममा जथाभाबी खान्छन्। जस्तो, दैनिक मासु, दूध, घिउ, नुन थपीथपी खान्छन्। यस्ता खानाले मुटुरोग लाग्न मद्दत गर्छन्। घरकै  खाना नराम्रो छ भने मुटु बिग्रिन त्यहींबाट सुरु गर्छ। यस्तो अवस्थामा कुन खाना कति खाने भन्ने कुराको मेनु (तालिका) तयार हुनुपर्छ। एउटा व्यक्तिले सबै खानेकुरा मिलाएर दिनको पाँचपटक खानुपर्छ।

चिनीले मुटुुलाई कसरी असर गर्छ ?
चिनी प्रशोधित खाद्य पदार्थ हो। यो तेलभन्दा पनि खतरनाक हो। अध्ययनले पनि के प्रमाणित गरिसकेको छ भने प्रदूषित कार्बोहाइड्रेट बढी खानेहरूलाई मधुमेह, कोलेस्ट्रोल, उच्च रक्तचाप र मुटुरोगको जोखिम बढी हुन्छ। भात प्रशोधित खाना होइन, दाल प्रशोधित खाना होइन। रोटी, भातमा भएको कार्बोहाइडे«ट प्रशोधित कार्बोहाइडे«ट हैन। तर कोल्ड ड्रिंक्समा भएका कार्बोहाइडे«ट सय प्रतिशत प्रशोधित हो। मिठाइमा हालेको चिनी, चक्लेटमा हालेको चिनी, चियामा हालेको चिनी पनि खतरनाक हुन्छ। चिनी हाम्रो जीवनशैलीबाट बाहिर जानुपर्छ।

नुनले कसरी मुटुरोग लाग्छ ?
नुनले उच्च रक्तचाप बढाउँछ, उच्च रक्तचापले मुटुरोग बढाउँछ।

बजारका खानाहरू कसरी मुटुरोगका लागि हानिकारक हुन् ?
बाहिर हेर्दा राम्रो देखिए पनि बजारका खानेकुरा मुटुका लागि स्वस्थ हुँदैनन्। घर बाहिर खानु परेमा हामी पिज्जा, बर्गर, ममजस्ता फास्टफुड नै रोज्छौं। यी खानेकुरामा चिल्लो र मासुकै प्रयोग भएका हुन्छन्। साथै पसल, होटल या रेस्टुराँमा पकाइने खानाहरूमा कस्ता तेल प्रयोग भएका छन् ? पहिल्यै प्रयोग भइसकेको तेल प्रयोग गरिएको छ कि छैन ? यी कुरा हामीलाई थाहा हुँदैन। यसरी प्रयोग भएका तेल स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ। जसले मुटुरोगको जोखिम बढाउँछ।

त्यसोभए मुटुरोगबाट बच्न कस्ता तेल खाने त ?
हुन त तेल सबै उस्तै हुन्। तैपनि सर्सिंयुको तेल, सूर्यमुखी तेल, भटमासको तेलजस्ता आदी स्वस्थ मानिन्छन्। तर तेलको प्रयोग गर्ने तरिकामा भर पर्छ। अर्को कुरा, भोजभतेर होटलमा खाने चलन बढेको छ। जहाँ बढी भुटे÷तारेका खानाहरू पाइन्छन्। पछिल्लो समय यस्ता भुटे÷तारेका खानाहरू विवाह, पार्टीमा बढी समावेश हुन थालेका छन्। समाज विलासितामा अघि बढ्यो। तर समाजले के बुझेन भने ३०/४० वर्षअघिको जीवनशैली नै ठीक थियो जुन रोग रोक्ने किसिमको थियो।

नयाँ पुस्ताले तीव्र रूपमा आधुनिक जीवनशैली पछ्याइरहेको छ। जसले मुटुरोगको जोखिमलाई बढाउँदै लगेको छ।

नेपालमा मुख्य रूपमा देखापरेका मुटुरोग के–के हुन् ?
पहिलो, जन्मजात मुटुरोग। दोस्रो, बाथ मुटुरोग(मुटुको भल्बमा असर हुने) र तेस्रो, मुटुको रक्तनली अवरोध हुने रोग। यसपछि आउँछन्, मुटुको चालसम्बन्धी रोग, मुटु फेल हुने र हृदयाघात। अनि पाका मानिसमा देखापर्ने हर्टअट्याक र मुटुको नलीमा अवरोध।

यी रोग लाग्नाका कारण के हुन् ?
जन्मजात मुटुरोग लाग्नाको कारण औषधिको असर, नजिकका नाता सम्बन्धमा विवाह गर्नु। बच्चामा देखिने बाथ मुटुरोग भने टन्सिलबाट सुरु हुन्छ। घर सफाइ नगर्दा तथा समयमै उपचार नहुँदा बाथ मुटुरोग लाग्छ। अन्य मुटुरोग भने प्रदूषण, तनाव, चुरोट, रक्सी, गलत खानपानका कारणले लाग्छन्। बढी नुनिलो, चिल्लो, फास्टफुड खाने आदि कारणले पनि मुटुरोग निम्त्याउँछन्।

मुटुरोगका लक्षण कस्ता हुन्छन् ?
मुटु र छातिको बीच भागमा दुख्नु मुटुरोगको मुख्य लक्षण हो। यसका साथै  बिनाकारण मुटु ढुकढुक हुनु, थोरै हिंड्दा पनि स्वाँस्वाँ हुनु पनि यस रोगका लक्षण हुन्। शरीरमा पानी बढी हुनु, फोक्सोमा पानी जम्मा हुनु, अनुहार तथा खुट्टा सुन्निनु, बिनाकारण कमजोरी महसुस हुनु, बेहोस हुनु पनि मुटुरोगका लक्षण हुन्।

मुटुरोगको जोखिम कस्ता व्यक्ति छन् ?
विभिन्न अनुसन्धानले लगभग सबै व्यक्ति मुटुरोगको जोखिममा रहेको देखाएको छ। तर, तपाईंले आफ्नो स्वास्थ्यको समयमै ख्याल गर्नुभयो भने मुटुरोग नलाग्न पनि सक्छ। जस्तो, उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेहजस्ता रोगको समयमै उपचार गर्ने र स्वस्थ जीवनशैली अपनाउने गरेमा मुटुरोग लाग्नबाट बच्न सकिन्छ। जस्तो, उच्च रक्तचाप, मधुेमह र कोलेस्ट्रोल, तौल, मोटोपनालाई नियन्त्रणमा राख्न सकेमा।

मुटुको चाल बढ्ने रोग कसरी लाग्छ नि ?
मुटुको चाल बढ्ने कारण धेरै छन्।  उच्च रक्तचाप, तनाव, मुटुमा चालसम्बन्धी रोग लागेमा पनि मुटुको चाल बढ्न सक्छ। त्यसैगरी मुटुको मांशपेसी कमजोर हुँदा जन्मजात र वृद्ध हुँदै जाँदा पनि मुटुको चालसम्बन्धी रोग लाग्छ। मदिरा धेरै पिउने गरेमा पनि मुटुको चाल बिग्रिने समस्या आउँछ।

जाडोका बेला कस्ता व्यक्ति मुटुरोगको जोखिममा हुन्छन् ?
दमका दीर्घरोगी, पहिल्यै हृदयाघात र रक्तनलीमा अवरोध भएका, बाइपास सर्जरी गरेका या स्टेन्ट हालेका, मुटु कमजोर भएका, मुटुको चालमा गडबडी भएकाहरूका लागि जाडो मौसम जोखिमपूर्ण हुन्छ। यसैगरी फोक्सो, सिओपिडी, मिर्गौला, वृद्धावस्था भएका, अनियन्त्रित रक्तचाप, कोलेस्ट्रोल भएका, धूमपान, शारीरिक रूपमा निस्क्रिय रहेका, ज्यादै रक्सी खाने, मस्तिष्काघात या पक्षाघात भएकाहरूलाई पनि जाडोमा मुटुरोगको जोखिम हुन्छ।

त्यस्ता व्यक्तिलाई चिसो मौसममा मुटुरोग बढ्नाका कारण ?
चिसोले रगत जम्ने क्रम बढाउँछ। चिसोकै कारण रगतका नसाहरू खुम्चिएर साँघुरा हुन्छन्। जसले गर्दा रक्तचाप बढ्ने, मुटुको धड्कन बढ्नेजस्ता समस्या आउँछन्। चिसोकै कारण शरीरमा विभिन्न किसिमका हार्मोन सक्रिय हुन्छन् र शरीरमा नकारात्मक परिवर्तन ल्याउँछन्। मुटुरोगको जोखिम भएका व्यक्तिहरूलाई चिसोको कारणले हृदयाघात पनि हुन सक्छ।  

यस्तो जोखिमबाट कसरी बच्ने त ?
चिसोबाट सुरक्षित हुने, घर बाहिर ननिस्कने, घाम लागेपछि मात्र हिंड्ने, मदिरा र चुरोट नखाने।

जाडोमा हृदयाघातको जोखिम पनि बढ्छ भनिन्छ ? कसरी ?
जोखिममा रहेका व्यक्तिलाई जाडोमा हृदयाघात हुने संभावना बढी हुन्छ। जसलाई उच्च रक्तचाप छ र अनियन्त्रित छ। जो चुरोट–रक्सी खान्छन्। जो पहिल्यै मुटुरोगी सावित भइसकेका छन्। जसलाई कोलेस्ट्रोल छ। त्यस्ता व्यक्तिहरूलाई जाडोमा हृदयाघात हुन सक्छ।

मुटुलाई स्वस्थ राख्न के गर्नुपर्छ ?
समय–समयमा मुटु जाँच गराउने, स्वस्थ जीवनशैली अपनाउने, स्वस्थ खाना खाने, उच्च रक्तचाप, कोलेस्ट्रोल र मधुमेह छ भने नियमित उपचार तथा औषधि गरेर नियन्त्रणमा राख्ने।  नियमित व्यायाम गर्ने, धूमपान–मद्यपान नगर्ने, प्रदूषित वातावरणमा नबस्ने गरेर पनि धेरै हदसम्म मुटुलाई स्वस्थ राख्न सकिन्छ।

sources : nagarik dainik

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2019 - Samayaonline.com All rights reserved