ठगी आरोपमा इटहरी ५ बाट लोकेन्द्रबहादुर कार्की समातिएका छन् । इटहरीकी ताराकुमारी विश्वकर्माले दिएको जाहेरीपछि उनी समातिएका हुन् ।
विश्वकर्माले घर बनाउनको लागि १४ लाख ५० हजार दिएको लामो समय बितिसक्दा पनि घर नबनाएपछि उनले ठगीएको गुनासो गरेकी छिन् । कार्कीले पैसा फिर्ता माग्दा पनि बाउन्स चेक दिने गरेका थिए ।
‘प्रहरी र पार्टीमा ठूलो मान्छे चिनेका छन् भन्दै धाक लगाउँथे,’ विश्वकर्माले भनिन्, ‘घर पनि नबनाइदिने र जग्गा पनि पास नगरिदिने गरेपछि बाध्य भएर उजुरी दिएको हुँ ।’
विश्वकर्माका छोराहरु उमेश र हिराले विदेशमा बसेर कमाएको पैसा घर बनाउनका लागि पठाएका थिए । दुबई र अष्ट्रेलियामा रहेका छोराहरुले पठाएको रकम कार्कीलाई दिएकी थिइन् । इटहरी १ मा ८ धुर जग्गामा घर बनाइदिने र विश्वकर्माले ६३ लाख ५० हजार रुपैया दिने सहमती बनेको थियो । सहमतीअनुसार वैशाख १९ गते ८ लाख ५ हजार रुपैया र वैशाख ११ गते थप ६ लाख ५० हजार रुपैया कार्कीले लगेका थिए ।
जेठ ३० गतेसम्ममा घर जग्गा पास गरिदिने भनेपनि भाका नाघिसक्दासम्म आधा काम पनि पुरा नगरेपछि र जग्गा पनि पास नगरिदिएपछि पीडितहरुले पैसा फिर्ता मागेका थिए ।
कार्कीले घर पनि अर्काको जग्गामा बनाएका थिए । उनले सुरुमा दुर्गा ढकालको नाममा रहेको जग्गा देखाएका थिए । पछि उनले असोज मसान्तभित्रमा शक्ति थापाका नाममा रहेको जग्गामा घर बनाइदिने बताएका थिए ।
इटहरी १ ख को कित्ता नं. ९६ को १७ धुर जग्गामध्ये कित्ताकाँट गरी ८ धुुुर जमिनमा घर बनाई पास गरिदिने बताएका थिए । तर त्यो मितिमा पनि घर बनाउन नसकेपछि भदौ ३० गते सटही हुने गरी छोरी सलोनी कार्कीको नामको चेक दिएका थिए ।
लक्ष्मी बैंकको खाता नं ०७९४३००००४९ को ००५०८६१२८५१७०१ नं. को चेक असोज २ गते, असोज १६ गते र कार्तीक १३ गते बाउन्स भएको थियो । चेक बाउन्स भएपछि विश्वकर्मा परिवारले आफूहरु ठगिएको थाहा पाएका थिए ।
उता उनले उक्त जग्गामा घर बनाएपनि जग्गाधनीको जग्गासमेत आफ्नो नाममा पास गरेका छैनन् ।
यस्तै आफूहरु ठगिएको थाहा पाएपछि पैसा फिर्ता माग्दै पुगेका हिरा र उमेशसहित पत्रकारहरुको टोलीले उनलाई केही दिनअघि उनकै कार्यालयमा भेटेको थियो । सोही समयमा उनले आफू बन्धकमा परेको भन्दै प्रहरीलाई खबर गरेका थिए । त्यसको लागि उनले आफू आबद्ध पार्टी समाजवादी पार्टीका जिल्ला स्तरका नेताको सोर्स लगाएका थिए ।
लगत्तै पुगेको प्रहरी टोलीले केही नभेटेपछि उल्टै कार्कीलाई हपारेर पठाएको थियो । त्यसको केही दिनपछि कार्कीले विश्वकर्मा दाजुभाईविरुद्ध हुलाकमार्फत् शरीर बन्धक र अपहरणको उजुरी दर्ता गराएका थिए । पछि उनको उजुरी काल्पनिक रहेको पुष्टि भएको थियो ।
यता कार्की यसअघि पनि पटक पटक विवादमा मुछिएको थाहा भएको छ । उनले यसअघि पनि धेरै मानिसको पैसा ठग्ने र पैसा फिर्ता माग्नेलाई प्रहरी र नेताको धाकधम्की देखाउने गरेको गुनासो गरिएको छ । उनले उनी विरुद्ध आवाज उठाउनेकै विरुद्ध अदालतमा मुद्धा हालेर हायल कायल बनाउने गरेका छन् । उनले इलाका प्रहरी कार्यालय र इटहरी उपमहानगरपालिकाविरुद्ध पनि उच्च अदालतमा मानहानीको मुद्धा दायर गरेका थिए ।
यता इलाका प्रहरी कार्यालय इटहरीले कानुन बमोजिम कारवाहीका लागि अघि बढाउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved