काठमाडौंँ - दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव ताप्लेजुङबाट काठमाडौ ल्याइएको छ ।
मन्त्रीअधिकारीसहितको शव ल्याइँदा विमानस्थलमा उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डित, अर्थमन्त्री युवराज खतिवडा, कानुनमन्त्री भानुभक्र ढकाललगायत नेता कार्यकर्ता र सरकारी अधिकारी त्रिभुवन विमानस्थल पुगेका थिए ।
विमानस्थलबाट उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालतर्फ लगिएको छ। नेकपाका नेता कृष्णगोपाल श्रेष्ठका अनुसार अधिकारीको शव काठमाडौं ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ ।
त्यसपछि श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिने छ। पार्टी कार्यालयमा नेता, कार्यकर्ता र सुभचिन्तकहरुले अधिकारीलाई श्रद्धान्जली दिने व्यवस्था मिलाएको नेकपाले जनाएको छ। त्यसपछि समय रहेसम्म काठमाडौंको खुलामञ्चमा समेत अधिकारीको शव सम्मानका राख्ने विषयमा छलफल भइरहेको बताइएको छ।
अधिकारीसहितको शव सुकेटार विमानस्थलबाट सेनाको हेलिकोप्टरमार्फत काठमाडौ ल्याएको हो । शव लिन सेनाको हेलिकोप्टर बुधबार नै सुकेटार विमानस्थल पुगेको थियो । तर, मौसमका कारण उड्न सकेको थिएन ।
यसैवीच मन्त्री अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमै लगेर गरिने भएको छ । कास्की क्षेत्र नं २ बाट संघीय संसदका लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिएका छन् । अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषदले निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved