एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज (आइतबार) सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल नेपाली समयअनुसार साँझ ७ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
मुम्बईस्थित वाङ्खडे रंगशालामा फाइनल खेल हुनेछ । चेन्नईले अहिलेसम्म २ पटक आईपीएलको उपाधि उचालेको छ । सन् २०१० र २०११ को आईपीएल चेन्नईले जितेको थियो । यता, हैदरावादले एक पटकमात्रै आईपीएलको उपाधि उचालेको छ । सन् २०१६ मा हैदरावाद च्याम्पियन बनेको थियो ।
प्लेअफको पहिलो क्वालिफायरमा चेन्नईले हैदरावादलाई पराजित गरेर सिधै फाइनलमा प्रवेश गरेको थियो भने हैदरावादले दोस्रो क्वालिफायरमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
लिग राउण्डको दुवै खेल चेन्नईले जितेको थियो । चेन्नईले अवे खेलमा हैदरावादलाई उसैको घरेलु मैदानमा ४ रनले पराजित गरेको थियो भने होम खेलमा पनि हैदरावादमाथि चेन्नईले ८ विकेटको जित हात पारेको थियो ।
प्लेयर्स टु वाच
सन् २०१६ र २०१७ सम्मको दुई वर्षे प्रतिबन्धपछि पुनरागमन गरेको चेन्नईले कप्तान महेन्द्रसिंह धोनीसहित शेन वाटशन, अम्बाती रायडु, सुरेश रैना, रविन्द्र जडेजा जस्ता खेलाडीको प्रदर्शनले फाइनलसम्म ठाउँ बनाउन सफल भएको छ ।
चेन्नईका लागि अम्बाती रायडूले सर्वाधिक ५८६ रन बनाएका छन् । रायडूले यस सिजनमा उत्कृष्ट ब्याटिङ गर्दै एक शतक र ३ अर्धशतक बनाएका छन् । त्यस्तै कप्तान धोनीले १५ खेलमा ४५५ रन बनाएका छन् । अर्का व्याटस्म्यान वाटशनले ४३८, सुरेश रैनाले ४१३ रन बनाएका छन् ।
बलिङतर्फ चेन्नईका लागि शार्दुल ठाकुरले सर्वाधिक १५ विकेट लिएका छन् भने डावेन ब्राभोले १३ विकेट लिएका छन् । त्यस्तै पछिल्लो ६ खेलदेखि चेन्नईका लागि खेलेका लुंगी एनगीडीले १० विकेट लिएका छन् । एनगीडीले उत्कृष्ट बलिङ गर्दै केबल ६ खेलमा कुल २२ ओभर बलिङ गर्दै प्रतिओभर ५.९ को रनरेटका दरले बलिङ गरेका छन् ।
त्यस्तै दिपक चहर, डावेन ब्राभो र रविन्द्र जडेजाले पनि १०–१० विकेट लिएका छन् ।
हैदरावाद फाइनलसम्म पुग्नुमा कप्तान केन विलियम्सनको ठूलो भूमिका रहेको छ । विलियम्सनले जारी आईपीएलमा सबैभन्दा धेरै रन बनाएका छन् । विलियम्सनले १६ खेलमा ६८८ रन बनाएका छन् । जसमा केनले ८ अर्धशतक हानेका छन् भने यो आईपीएलमा धेरै अर्धशतक हान्ने खेलाडी हुन् ।
त्यस्तै, हैदरावादका शिखर धवनले ४७१, मनिष पाण्डेले २८४, सकिब अल हसनले २१६ र युशुफ पठानले २१५ रन बनाएका छन् ।
हैदरावादको बलिङ निकै किफायती सावित भएको छ । हैदरावादको बलिङमा अफगानी बलर राशिद खान र भारतीय बलर सिद्धार्थ कौलले सम्हालेका छन् । दुवैले १६–१६ खेलमा २१–२१ विकेट लिएका छन् । त्यस्तै सकिब अल हसनले १४ र सन्दीप शर्माले ११ विकेट लिएका छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved