सुनसरी - ट्राफिक ब्यवस्थापन र सडक सुशासन कायम गर्ने कार्यमा प्रहरी एक्लैको प्रयास असफल हुने हुँदा स्थानीय सरकार लगायत समाजका हरेक वर्ग, बिभिन्नसंघ संस्थाहरु र आम नागरीकहरुको पनि उत्तिकै साथ र सहयोग हुनु पर्ने १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले बताउनु भएको छ । आज सुनसरीको ईटहरीमा भएको सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी १५ दिने महाअभियानको समापन कार्यक्रममा बोल्नु हुँदै वहाँले उक्त कुरा बताउनु भएको हो ।
१५ दिने महाअभियानको समापन कार्यक्रका प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक रिजालले समुदाय प्रहरी साझेदारी कार्यक्रमको परिकल्पना अनुरुप १५ दिने सवारी दुर्घटना न्यूनीकरण महाअभियान संचालन गर्नु भएकोमा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख लगायत कार्यरत सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरुलाई धन्यबाद दिनुका साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने स्थानीय जनप्रतिनिधीहरु, १४ वटै जिल्लाका बिभिन्न संघ संस्था, सवारी चालक र सह(चालक तथा सर्वसाधारण महानुभावहरुप्रति समेत हार्दिक आभार प्रकट गर्नु भएको थियो ।
वहाँलेयस १५ दिने सवारी दुर्घटना न्यूनीकरण महाअभियानको समापनमाउठेका बिषयहरुलाई पनि आगामी दिनहरुमा कार्यक्षेत्रमा लागु गर्न आफु प्रतिबद्ध रहेकोबताउदै अभियानमा सहयोग तथा ट्राफिक ब्यबस्थापन लगायत विविध कार्यमा सहकार्य गर्नुहुने महानुभावहरुलाई सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा १ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवि कुमार पौडेलले स्वागत मन्तव्य सहित आफ्ना भनाई राख्नु हुँदै १५ दिने महाअभियानको कार्ययोजना र कार्यक्रम अनुसार प्रदेश भरी नै बिभिन्न किसिमका सचेतना मुलक कार्यक्रमहरु संचालन गरिएको र सो कार्यक्रमबाट १ लाख ४९ हजार भन्दा बढी नागरीकहरु प्रत्यक्ष सहभागी भएको जानकारी दिनु भयो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेस बिष्ट, यातायात ब्यबसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्ण प्रसाद सुवेदी तथा नागरिक समाज इटहरीका अध्यक्ष दिनेश रसाईलीले आ(आफ्नो भनाई राख्नु हुँदै सवारी दुर्घटना न्युनिकरण तथा सडक सुशासन कायम राख्ने कार्यमा आफुहरुको पनि भरपुर साथ र सहयोग रहने बताउनु भएको थियो ।
सवारी दुर्घटना न्यूनिकरण महा(अभियानको फाल्गुन ३० गते नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिर्तामोडको मुक्ति चोकमा भएको एक बिशेष कार्यक्रमका विच बिधिवत रुपमा समुद्घाटन गर्नु भएको थियो।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved